वीर अस्पतालबाट ‘डिस्चार्ज’ भए स्वास्थ्य मन्त्री खापुङ
काठमाडौँ, १२ भदौ । वीर अस्पतालमा उपचार गराईरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएपछि उनी शनिबार दिउसो डिस्चार्ज भएका हुन् ।
स्वास्थ्य मन्त्री खापुङलाई गत शुक्रबार एक्कासी रिंगाटा चल्ने र बान्ता हुने समस्या देखिएपछि वीर अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकहरुले भीआईपी कक्षमा उनलाई भर्ना गरि स्वास्थ्य जाँच गराएका थिए ।
परीक्षणका क्रममा कानको भित्री भागमा हुने एक प्रकारको समस्या मेनियर्स डिजिज भएको पत्ता लागेको छ ।
कानमा अचानक ‘इन्डोल्याम्फ’ नामक झोल पदार्थको चाप बढेपछि ‘मेनियर्स डिजिज’ हुने विशेषज्ञ चिकित्सकहरु बताउँछन् । नाक कान घाँटी रोग विशेषज्ञ प्राडा ढुण्डी पौडेलका अनुसार कानमा अचानक चाप बढेपछि सुन्न कम हुने, वाकवाक आउने, वान्ता आउने, चक्कर आउने, कान कराउनेजस्ता समस्या देखिन्छ ।
वीरका प्रमुख कार्यकारी अधिकारी प्राडा भुपेन्द्रकुमार बस्नेतले एमआरआई लगायतका अन्य परीक्षण गर्दा समस्या नभेटिएको र मेनियर्स डिजिजसंग सबै लक्षण मिलेको बताए । उनले त्यसका लागि औषधि सुरु गरिएको बताए । ‘अहिले सामान्य औषधि दिएर पठाइएको छ । अवस्था पनि सामान्य नै छ,’ उनले भने ।
स्वास्थ्य मन्त्री खापुङका निजी सचिव भक्तबहादुर खड्काले मेनियर्स डिजिजका कारण समस्या भएपनि अहिले अहिले स्वास्थ्य ठिक भइसकेको बताए ।
‘समस्या के हो भन्ने पत्ता लाग्यो । त्यसको औषधि सुरु भएको छ । र अहिले मन्त्री ज्यूको स्वास्थ्य अवस्था छ,’ उनले भने ।
सम्पर्क इमेल : [email protected]