प्रमुख विशेषज्ञलाई अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय राजपत्रमा प्रकाशित
काठमाडौँ, ६ भदौ । गत १ भदौमा सेवा निबृत्त भएका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवलाई अतिरिक्त स्वास्थ्य बन्न खुवै ईच्छा थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा गत २६ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख विशेषज्ञलाई अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय समेत गर्यो तर त्यसपछिका प्रक्रिया पार गरी राजपन्त्रमा प्रकाशित हुन अरु सात दिन लाग्यो ।
अर्थात उनी अनिवार्य अवकाश पाउने दिनसम्म राजपत्रमा छापिएन । भईसकेको निर्णय कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको टीमले ढिलाई गरेको भन्दै उनी विदाई लिन समेत गएनन् । मन्त्रालयले भने मन्त्रिपरिषदको निर्णय आउन नै ढिलाई भएको र राजपत्रमा प्रकाशित हुनका लागि समेत पालो कुर्नुपर्ने भएकोले केही ढिलाई हुँदा डा यादवकै पालामा कार्यान्वयनमा ल्याउन नसकिएको स्पष्ट पारेको छ ।
तर, अब भने मन्त्रालयलाई प्रमुख विशेषज्ञलाई पदनाम अतिरिक्त स्वास्थ्य सचिव दिनका लागि बाटो खुलेको छ ।
मुद्रण विभागले गत २ भदौमा पदनाम परिवर्तन सम्वन्धी स्वास्थ्य मन्त्रालयको सूचना प्रकाशित गरेपछि बाटो खुलेको हो ।
गत २ असोजमा प्रकाशित राजपत्रमा ‘स्वास्थ्य सेवा नियमावली २०५५ को नियम १३१ ले दिएको अधिकार प्रयोग गरी सोही नियमावलीको अनुसूची ३ को अधिकृत बाह्रौँ तह अन्तरगर्तको सिंन १ मा रहेका प्रमुख विशेषज्ञ भन्ने शव्दहरुको शट्टा अतिरिक्त स्वास्थ्य सचिव भन्ने शव्दहरु राखी हेरफेर गरिएको उल्लेख छ ।’
सूचना प्रकाशित भएपनि मन्त्रालयमा टाँगिएका प्रमुख विशेषज्ञ पदका अधिकारीहरुको नेमप्लेटमा पदनाम परिवर्तन गरिएको छैन् ।
मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख मदनकुमार भुजेलले अब पदनाम परिवर्तन गर्ने बाटो खुलेको र केही दिनमै परिवर्तन हुने बताए ।
‘अब राजपत्रको सूचना अनुसार एउटा निर्णय गराएर मन्त्री ज्यूले सदर गर्ने वित्तिकै कार्यान्वयनमा आउँछ,’ उनले भने ।
स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङ भने अहिले एक साता लामो पूर्वको भ्रमणमा निस्केका छन् ।
सम्पर्क इमेल : [email protected]