स्वास्थ्य मन्त्रीको प्रस्ताव राज्यमन्त्रीले रोकिदिए पछि……
काठमाडौँ, १३ साउन । राज्यमन्त्री हिराचन्द्र केसी ‘कन्भिन्स’ भएका थिए भने आज स्वास्थ्यमा तीन जना एघारौँ तहका कर्मचारीले नयाँ जिम्मेवारी पाउने थिए । तर स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङको सचिवालयको सल्लाहमा तयार पारिएको जिम्मेवारी हेरफेर सम्वन्धी टिप्पणी पढेपछि राज्यमन्त्री केसी ‘कन्भिन्स’ भएनन् र टिप्पणी उठाएको फाइल बदर गरिदिए ।
स्वास्थ्य मन्त्री खापुङले आज तीन जना एघारौँ तहका कर्मचारीलाई नयाँ जिम्मेवारी दिने योजनामा थिए । मन्त्रीकै निर्देशनमा कर्मचारी प्रशासन महाशाखाले फाइल उठाएको पनि थियो । तर अन्तिम निर्णय गर्नु अघि राज्यमन्त्रीलाई देखाउँदा उनी सहमत भएनन् । उनले फाइल फिर्ता गरिदिए र अर्को टिप्पणी उठाउन निर्देशन दिए ।
कर्मचारी स्रोतका अनुसार मन्त्री खापुङले समन्वय महाशाखामा मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशक बनेका विजयकुमार झालाई ल्याउने गरी टिप्पणी उठाउन भनेका थिए । समन्वय महाशाखा प्रमुखले प्रवक्ताको जिम्मेवारी लिने प्रचलन भएपनि मन्त्री खापुङको निर्देशन अनुसार यशोधा अर्याललाई प्रवक्तामा तोकिदै थियो । यस्तै डा विश्वबन्धु बगालेलाई केन्द्रीय कारागार अस्पतालको प्रमुख बनाउने गरी टिप्पणी उठेको थियो । तर राज्यमन्त्री केसीले सो फाइललाई हुँदैन भनेर फिर्ता पठाईदिए ।
मन्त्रीको टिमले तयार गरेको सूची राज्यमन्त्रीले फर्काईदिएपछि कर्मचारी अलमलमा परेका छन् ।
यता मन्त्री र राज्यमन्त्रीबीच टसल सुरु भएको छ ।
राज्यमन्त्रीले केसीले यसअघि आफूहरुको कार्य विभाजन गर्दा नै मन्त्रीले गर्ने हरेक निर्णय गर्नु अघि आफूलाई देखाउने छलफल र सहमतिपछि अन्तिम निर्णय गर्ने योजना अनुसार नै केही फाइलहरु रोकिएको र फिर्ता भएको बताउने गरेका छन् । तर मन्त्री खापुङले भने आफूले सहमति गरेर पठाएका फाइलहरु रोकिदिएकोमा निको मानेका छैनन् ।
यो त दुई मन्त्रीबीचको टसल हो । मन्त्री निकट एक सदस्यले भने मन्त्रीका फाइल राज्यमन्त्रीले रोक्ने र राज्यमन्त्रीले भनेका मात्रै गर्ने हो भने मन्त्री ठूलो कि राज्यमन्त्री ? यसले राम्रो संकेत गरेन अब राम्रोसंग काम हुन सक्दैन ।
‘प्रतिष्ठानको रजिष्ट्रारको विषयमा पनि सहमति हुँदैन’
त्यसो त राज्यमन्त्री केसीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारका विषयमा पनि सहमत नहुने गरी अडानमा रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार प्रतिष्ठानका रजिष्टारका लागि बालुवाटारबाट उपकुलपति डा ज्ञानेन्द्र गिरीलाई एक जना व्यत्तिको नाम सिफारिस गर्न भनिएको छ । ती व्यक्ति काग्रेसका एक जना नेतृको श्रीमान रहेको बताइएको छ ।
रजिष्ट्रार नियुक्तीका लागि उपकुलपतिले सिफारिस गर्ने र सहकुलपतिको हैसियतमा स्वास्थ्य मन्त्रीले नियुक्ती गर्ने व्यवस्था छ । तर सिफारिस भएर आउन लागेका भनिएका व्यक्तिको योग्यतामा नै विवाद भएकोले आफूहरुले अस्विकार गर्न परेको राज्यमन्त्री स्रोतले बतायो । त्यसो त मन्त्रीकै सचिवालयले पनि रजिष्ट्रार प्रस्तावित नामको विषयमा सहमत हुन नसकिने भन्दै निर्णय नगर्न दवाव दिईरहेको बताएको छ ।
सम्पर्क इमेल : [email protected]