सुर्तीजन्य पदार्थको उत्पादनमा पुन: लगानी गर्दै सरकार
बन्द भईसकेको जनकपुर चुरोट कारखाना पुन: सञ्चालनमा ल्याउने उद्योग मन्त्री बडूको घोषणा
काठमाडौँ, १२ साउन । बार्षिक २७ हजार बढी नेपालीको ज्यान जाने सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न सरकारले छुट्टै कानून बनाएको छ । तर सोही कानूनको बिरुद्ध हुने गरी सरकारकै मन्त्रीले बर्षौ अघि बन्द भईसकेको चुरोट कारखाना पुन सञ्चालनमा ल्याउने तयारी भएको बताएका छन् ।
उनले कुनै जमानामा नाम कमाएको जनकपुर चुरोट कारखाना पुन सञ्चालनमा ल्याउन संघीय सरकारले तयारी थालेको समेत दावि गरेका छन् ।
बुधबार बन्द भएको कारखानाको निरीक्षण गर्न जनकपुर पुगेका उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै जनकपुर चुरोट कारखाना पुन सञ्चालनमा ल्याउने बताएका हुन् । उनले त्यसका लागि संघीय सरकारले बजेट समेत छुट्याएको दावी गरेका छन् ।
सरकारको स्वामित्वमा सञ्चालन भइ नाम कमाएर पनि बन्द भएको चुरोट कारखानाका मेसिनहरुको अध्ययन गरेर उपयोगमा आउने मेसिनलाई सञ्चालनमा ल्याउने योजना सरकारको रहेको समेत उनले जानकारी दिए ।
मन्त्री बडूले जनकपुर चुरोट कारखाना सञ्चालनमा आएको दिन सरकारको महत्वपूर्ण उपलव्धी हुने समेत बताए । तर उनले त्यसो भन्दै गर्दा सरकारले बर्षौ अघि जनाएको अन्तराष्ट्रिय प्रतिवद्धता डब्लुएचओ फ्रेमवर्क कन्भेन्सन अन टोवाको कन्ट्रोल (डब्लुएचओ एफसीटीसी)मा हस्ताक्षर गरेको कुरा बिर्सिएका देखिन्थे । न त उनले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्ने सरकारको नीति छ भन्ने कुरामा हेक्का राखेको देखिन्थ्यो ।
बढ्दो क्रममा रहेको नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थ प्रयोगलाई नियन्त्रण गर्ने सरकारको पहिलो दायित्व हो । तर सरकारकै मन्त्री भने नाम चलेको पुरानो उद्योगलाई निजी क्षेत्रसंग समन्वय गरेर सञ्चालन गर्ने र त्यसले सरकारको उपलव्धी थपिने ठोकुवा गर्दै हिडेका छन् ।
स्थानीय सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनले भने ‘‘अहिले बन्द रहेका विराटनगर जुटमिल, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग, बुटवल घागो उद्योग, गोरखकाली रबर उद्योग सरकारी स्वामित्वमा भएका पनि बन्द भएका छन् । निजी क्षेत्रका उद्योग पनि बन्द भएका छन् । उनीहरुलाई पनि राज्यले केके सहुलियत दिनुपर्छ, चलाउनु पर्छ ।
उनले मुलुकको आर्थिक अवस्था सुधार गर्न, व्यापार घाटा कम गर्न,आयात प्रतिस्थापन गर्नको लागि बन्द उद्योग सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको जिकीर गरे । मन्त्री बडूले जनकपुर चुरोट कारखाना पुनः सञ्चालनमा ल्याउनको लागि निजी क्षेत्र र प्रदेश सरकारसँग पनि समन्वय गर्ने बताए ।
यसअघि तत्कालिन उद्योग मन्त्री मात्रिकाप्रसाद यादवले पनि जनकपुर चुरोट कारखाना पुन सञ्चालनमा ल्याउने बताएका थिए । त्यसबेला पनि उनको अभिव्यक्तिको विरोध भएको छ ।
अहिले जनकपुर चुरोट कारखाना भएको स्थानमा मधेश प्रदेश सरकारले आफ्ना कार्यालयहरु स्थापना गरी सञ्चालनमा ल्याएको छ ।
मधेशका अधिकांश स्थानीयले चुरोट कारखाना सञ्चालनमा ल्याउन नहुने बताउँदै आएका छन् । प्रदेश सरकारले पनि चुरोट कारखाना सञ्चालनमा नल्याउने बताउँदै आएको छ ।
सम्पर्क इमेल : [email protected]