लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बेड, कार्ड र रगत निःशुल्क

लुम्बिनी, १ साउन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बहिरङ्ग र जनरल बेड सेवा निःशुल्क गरिएको छ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई बहिरङ्ग सेवा र जनरल बेड सेवामा शुल्क नलिने व्यवस्था गरेसँगै उक्त निर्णय आजदेखि कार्यान्वयनमा ल्याइएको प्रदेश सरकारका स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले जानकारी दिए।
“लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयद्वारा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट २०७९ साउन १ गतेदेखि बहिरङ सेवा र जनरल बेड सेवा निःशुल्क हुने छ”, उनले भने, “प्रदेश सरकारले दुवै अस्पतालमा ओपिडी र बेड निःशुल्क गर्न रु एक करोड ५० लाख बजेट विनियोजन गरेको छ।”
यस्तै साउन १ गतेदेखि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि रगत पनि निःशुल्क हुने भएको छ। रगत निःशुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन डा.इन्द्र ढकाल र रक्तसंचार केन्द्रका संयोजक कृष्ण पंगेनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सो सम्झौतासँगै रक्त संचार केन्द्र बुटवलले अस्पतालको सिफारिसमा कुनैपनि सेवा शुल्क नलिइ रगत उपलब्ध गराउने केन्द्रका संयोजक पंगेनीले बताए।सरकारले बजेटमा निःशुल्क रगतका लागि रु तीन करोड बजेट विनियोजन गरेको छ।
रासस
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




