आयुर्वेद चिकित्सक संघले २५ औँ स्थापना दिवस मनायो, ७ जना चिकित्सकलाई सम्मान

128
Shares

काठमाडौँ, २४ असार ।  नेपाल आयुर्वेद चिकित्सक संघले आफ्नो २५ औँ स्थापना दिवसको अवसरमा ७ जना आयुर्वेद चिकित्सकलाई सम्मान गरेको छ । आयुर्वेद चिकित्साको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको भन्दै सात जना चिकित्सकलाई सम्मान गरिएको हो ।

गत २० असारमा राजधानीमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले उनीहरुलाई सम्मान गरेका हुन् । सम्मानित हुने चिकित्सकहरुमा डा. चन्द्र राज सपकोटा, डा. कादम्बरी आचार्य, डा. मायादेवी गौतम, डा. रामचन्द्र अधिकारी, डा. बाबुराजा अमात्य, डा. रामचन्द्र पाण्डे र डा. सुरज कर्मचार्य रहेका छन् ।

सोही अवसरमा आयुर्वेद चिकित्सकहरूले ‘नसर्ने रोगमा आयुर्वेद चिकित्सा’ शीर्षकको वैज्ञानिक सत्रमा आ – आफ्ना शोधपत्रहरु प्रस्तुति गरेका थिए ।  डा. विनोद घिमिरेले ‘नसर्ने रोगमा थेरापिटिक योग र आयुर्वेदको एकीकृत प्रभाव’ र डा. अमित मान जोशीले ‘हाइपोथाइरोडमा जडीबुटी तथा खनिज औषधिको प्रभाव’  शीर्षक शोधपत्र प्रस्तुत गरेका थिए ।

उक्त वैज्ञानिक सत्रमा आयुर्वेद विज्ञ र चिकित्सकहरुले आयुर्वेदका विभिन्न चिकित्सा विधिहरूले नसर्ने रोगको चिकित्साका लागि महत्त्वपूर्ण भूमिका निभाउन सक्ने धारणा राखेका थिए ।

चिकित्सकहरूले यस्ता विधिहरूलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्वास्थ्य कार्यक्रममा समावेश गरेर नसर्ने रोगको उपचार र रोकथाम गर्ने विषयहरू माथि पनि छलफल गरेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले आयुर्वेदको महत्व मानव स्वास्थ्यका लागि अतुलनीय भएको बताए । उनले यसको जगेर्ना गर्ने र व्यवसायिक रुपमा थप प्रभावकारी ढंगले अघि बढाउन सबै पक्ष लाग्नु पर्ने बताए । मन्त्री खापुङले आयुर्वेद चिकित्सक संघका मागहरू जायज रहेकोमा यसको कार्यान्वयनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. उमा शंकर प्रसादले आयुर्वेदलाई स्वास्थ्य योजनामा प्राथमिकता साथ राखिनुपर्ने आवश्यकता राष्ट्रिय योजना आयोगले महसुस गरेको भन्दै अब को दशक आयुर्वेद को दशक रहेको बताए । उनले यसको विकास बिस्तार मा विशेष जोड दिनु पर्ने धारणा राखे ।

कार्यक्रमका आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. श्याम बाबु यादवले राष्ट्रिय आयुर्वेद प्रतिष्ठानको स्थापना, सरकारी सेवामा रहेका आयुर्वेद चिकित्सकहरूले वृद्धि विकास गर्नु पर्नेमा ध्यानाकर्षण गराएका थिए । उनले आयुर्वेद औषधिको उत्पादन र गुणस्तर निर्धारण, जिल्ला आयुर्वेद औषधालयको आयुर्वेद चिकित्सालयमा स्तरोन्नति र औषधिजन्य जडीबुटीको अनुसन्धानको लागि राष्ट्रिय औषधिजन्य वनस्पति बोर्डको स्थापना, एवं परम्परागत चिकित्सकीय ज्ञानको संरक्षण एवं प्रवर्धन गर्न राष्ट्रिय अभिलेखीकरण प्रक्रियाको थालनी गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

उनले नेपाल आयुर्वेद चिकित्सक सङ्घको भूमिका माथि प्रकाश पार्दै संघ अझै सकृया रूपमा अघि बढ्दै जाने कुरा व्यक्त गरे ।

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *