स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीलाई दिनु भन्नु स्वास्थ्य सुरक्षा कार्यक्रमको दृष्टिकोण नै नबुझ्नु हो : गगन थापा
काठमाडौँ, १९ जेठ । स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा कम्पनीमार्फत् सञ्चालन गर्ने गरी ल्याइएको बजेट प्रति पूर्व स्वास्थ्य मन्त्री गगन थापाले विरोध गरेका छन् ।
बजेटबारे प्रतिनिधि सभामा आज भएको छलफलमा भाग लिदै उनले स्वास्थ्य बीमाका सन्दर्भमा बजेटमा उल्लेख गरिएको कम्पनीबाट चलाउने भन्ने विषयमा विरोध गरेका हुन् । उनले बीमा कम्पनी मार्फत चलाउने भन्नु नेपालले अहिलेसम्म लिएको स्वास्थ्य सुरक्षा कार्यक्रमको दृष्टिकोण नै नबुझ्नु हो भने ।
उनको प्रश्न छ,’अन्य मन्त्रालयले ल्याएको कार्यक्रमका आधारभूत कुरा नै अर्थ मन्त्रालयले चलाउन पाउँछ ? अर्थ मन्त्रालय सुपर मिनिस्ट्री हो ?’
आफूले पनि एकपल्ट मन्त्रालय चलाउने अवसर पाएको उल्लेख गर्दै थापाले हरेक मन्त्रालयका आफ्नै कार्यक्रम र योजना हुने बताए। अर्थ मन्त्रालयले दिएको सिलिङमा उक्त योजना कार्यान्वयन गर्न खोजिरहेको हुने उनको भनाइ छ।
बजेटका सिलिङका विषयमा अर्थ मन्त्रालयले छलफल गर्न सक्ने भए पनि आधारभूत कार्यक्रम नै चलाउन भने नसक्ने उनको भनाइ छ।
‘स्वास्थ्य बीमाका सन्दर्भमा यो सामाजिक सुरक्षाको कार्यक्रम हो। वर्षौं लगाएर हामीले स्वास्थ्य बीमाको अवधारणा बनाएको हो। यहीँ उभिएर मैले कानुन प्रस्तुत गरेको हो। त्यसमा थप काम गर्नुपर्नेछ,’ उनले थपे, ‘अर्थ मन्त्रालयले के कार्यक्रम ल्याइदियो अब यो बीमा कम्पनीमार्फत् चलाउने। नेपालले अहिलेसम्म लिएको सामाजिक सुरक्षाको दृष्टिकोण नै नबुझ्नु हो।’
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




