‘सेभ द हार्ट’को १० वर्षे यात्रा : करीब एक लाख व्यक्तिलाई नि:शुल्क स्वास्थ्य सेवा

काठमाडौं, २५ बैशाख । मुटु रोग सम्वन्धि सचेतना, रोकथाम र उपचार क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्था ‘सेभ द हार्ट’ आफ्नो स्थापनाको एक दशक पार गरेको छ । उसले शनिबार एक विशेष कार्यक्रम गरी आफ्नो दशौँ बार्षिकोत्सव मनाएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष एवं मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले सेभ द हार्टले एक दशकको अवधीमा भएका गरेका स्वास्थ्य सेवाका कार्यबारेमा चर्चा गरे । उनले यो अवधीमा देशभरका ९९ हजार बढी व्यक्तिलाई निशुल्क स्वास्थ्य शिविरमार्फत सेवा दिईएको जानकारी दिए ।

‘संस्थाको पहलमा यस अवधीमा देशभरका २३ जिल्लामा ९६ वटा स्वास्थ्य शिविर आयोजना भएको छ । त्यसबाट एक हजार ३३६ जना शल्यक्रिया आवश्यक भएका बिरामीहरुको पहिचान भएको छ । सेभ द हार्टको सहयोगमा यसबीचमा ५ सय ४७ जनाले निःशुल्क मुटुको शल्यक्रिया गराएका छन् भने एकजना बिरामीलाई इटलीमा पठाएर संस्थाले निःशुल्क शल्यक्रियाको व्यवस्था समेत मिलाउन सफल भएको छ,’ दश वर्षे उपलव्धी सार्वजनिक गर्ने क्रममा अध्यक्ष डा भट्टराईले भने ।

उनले यो अवधीमा देशको पूर्वमा ताप्लेजुङदेखि पश्चिमको डोटी लगायत सातै प्रदेशका जिल्लाहरुमा स्वास्थ्य शिविर र सचेतनाका कार्यक्रम सम्पन्न गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि बनेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सेभ द हार्टले नेपाली जनताको स्वास्थ्यमा पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरे । उनले गैरसरकारी क्षेत्रबाट मुटु स्वास्थ्य सचेतना र विपन्न नागरिकको उपचारमा भएका कामले राज्यलाई ठूलो सहयोग भएको बताए ।

कोभिड महामारीपछि स्वास्थ्य क्षेत्रमा राज्यको लगानी बढेको भन्दै तिमिल्सिनाले सरकारी, गैरसरकारी र निजी क्षेत्रको सहकार्यबाट स्वास्थ्य क्षेत्रमा प्रगति गर्न सकिने धारणा राखे ।

पूर्व सांसद कृष्णप्रसाद भट्टराईले सेभ द हार्टले गरेको कार्यको प्रशंसा गर्दै मुटुरोगका बारेमा व्यक्ति आफै सचेत भई त्यसको रोकथाम र सचेतनामा क्रियाशिल हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष एवं बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा. भगवान कोइरालाले राज्यका तर्फबाट नसर्ने रोगको रोकथाम र सचेतनाका क्षेत्रमा लगानी बढेको भएपनि प्रयाप्त र प्रभावकारी हुन नसकेको बताए । तर उनले नेपालले मुटुरोग उपचारका क्षेत्रमा छोटो अवधीमा राम्रो प्रगति गरेको सुनाए ।

यस्तै मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले आफ्नो अस्पतालले पनि संस्थासँगको सहकार्यमा विपन्न, गरिब र दूरदराजका मुटुरोगीको निःशुल्क र सहुलियत उपचारमा योगदान गर्न पाएको बताए ।

कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा अरुण सायमी, डा. प्रकाशराज रेग्मीले मुटुरोगको रोकथाम र उपचारमा संस्थाले पुर्‍याएको योगदानको चर्चा गर्दै मुटुरोगका क्षेत्रमा भइरहेका प्रगति र गतिविधिहरुका बारेमा आफुना धारणा राखेका थिए ।

कार्यक्रममा सेभ द हार्ट संस्थासँग साझेदारी गरेको इटालीको मिसन बम्बिनीका प्रतिनिधिहरु डा। स्टेफेनो म्यारियान्स्ची, बेन्देता इयोफ्रिडा र मारिया टोरेलीले विभिन्न १० देशमा आफ्नो संस्थाले मुटुरोगका क्षेत्रमा काम गरेको भन्दै नेपालमा पनि उत्कृष्ट सहकार्य र काम गरेको बताए ।

वार्षिकोत्सवका अवसरमा संस्थाले आफ्ना गतिविधिलाई सफल बनाउन योगदान गर्ने विभिन्न व्यक्ति र संस्थाहरुलाई कदरपत्रद्धारा सम्मान समेत गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *