स्वास्थ्यको आव्हान : ३० बैशाखको दिन भोट हाल्न आउनुस्, छुटेका सबैले खोप पनि लगाउनुस्

काठमाडौँ, २१ बैशाख । कोभिडविरुद्धको खोपको बुस्टर डोज लगाउनेको संख्या घट्दै गएका बेला सरकारले कभरेजदर बढाउन नयाँ जुक्ति निकालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब स्थानीय तहको निर्वाचन हुने दिन अर्थात ३० बैशाखका दिन पहिलो डो, पूर्ण मात्रा र बुस्टर डोज लगाउन छुटेका व्यक्तिका लागि मतदानस्थलमै खोप लगाउने सुविधा मिलाउन लागेको छ ।

मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा संगिता मिश्राले हरेक मतदान केन्द्र नजिकै खोप केन्द्र राख्ने तयारी भएको र भोट हालिसकेपछि खोप छुटेका १८ वर्ष माथिका नागरिकले लिन पाउने व्यवस्था मिलाइएको बताईन् ।

‘त्यसैले यदि तपाईँहरु कारणवस, पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज लगाउन छुट्नु भएको छ भने भोट हालेपछि खोप लगाउन सक्नुहुन्छ । त्यसैले खोप छुटेका व्यक्तिले त्यसदिन मतदाता परिचयपत्रसंगै खोप कार्ड समेत लिएर जानुहोला,’ डा मिश्राले भनिन् ।

कोभिड संक्रमण कम हुँदै जाँदा पछिल्लो समय कोभिडविरुद्धको खोप लगाउनेको संख्यामा समेत कमि आएको छ । अहिले दिनहुँ औषत २० हजारले खोप लगाउने गरेका छन् । तर केन्द्र तथा मोफसलमा गरी करीव ९० लाख डोज खोप भण्डारण गरिएका छन् ।

फाइजर, मोर्डना, कोभिसिल्ड लगायतका यी खोपहरुको म्याद गुज्रिने समय समेत नजिकिदै गएको छ । अबको केही साता भित्र ती खोपहरु लगाउन नसकिए ठूलो परिमाणमा म्याद गुज्रिएर खेर जाने स्वास्थ्य सेवा विभाग स्रोतले बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *