सातामा दुई दिन सार्वजनिक विदा : अस्पतालको ओपिडी सेवा आइतबार बन्द नगर्ने पक्षमा मन्त्रालय
चिकित्सक संघले भन्यो - 'दुई दिन विदाको निर्णय ठीक'
काठमाडौँ, १९ बैशाख । आगामी जेठ १ देखि सरकारले शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सो निर्णयको नेपाल चिकित्सक संघले स्वागत गर्दै पूर्ण कार्यान्वयनको माग गरेको छ । तर स्वास्थ्य मन्त्रालय भने अस्पतालहरुमा दुई दिन सार्वजनिक दिने पक्षमा देखिएको छैन् ।
मन्त्रालयले केही दिन भित्रै त्यसबारेमा विशेष निर्णय गरी अस्पतालको हकमा पूर्ववत रुपमै सेवा सञ्चालन हुने जानकारी दिदैछ ।
‘यो त देशमा देखिन लागेको आर्थिक संकटबाट जोगाउनका लागि एउटा उपाय निकालिएको न हो । यसमा अस्पताल सञ्चालन, डाक्टरको सेवा रोक्नुपर्ने कुनै कारण छैन् । बरु सेवा रोकिदा आम सर्वसाधारण विरामीहरुलाई ठूलो सास्ती पर्दछ । त्यसैले दुई दिन विदा एकदमै अव्यहारिक छ । मन्त्री ज्यूले पनि भनिसक्नु भएको छ । अस्पतालको ओपिडी सेवा दुई दिन बन्द हुँदैन पूर्ववत रुपमा आइतबार सञ्चालनमा आउँछ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने ।
मन्त्रालयले सो निर्णय लिनु अघि एक पटक ठूला अस्पतालका निर्देशकहरुलाई बोलाई छलफल गर्ने तयारी समेत गर्दैछ । ‘सम्भवत स्वास्थ्य सचिव डा रोशन पोखरेलले अस्पताल निर्देशकहरुसंग सोमबार (आज) छलफल गर्दै हुनुहुन्छ । त्यसपछि औपचारिक निर्णय बाहिर आउँछ,’ ती अधिकारीले भने ।
दुई दिन सेवा वन्द हुँदा सबैभन्दा बढी मार विरामीलाई पर्दछ । उनीहरु निजी अस्पतालमा जान बाध्य हुन्छन् । यसले सरकारी सेवा झन धारासाही बन्दै जानेछ । त्यसैले दुई दिन विदा गर्न हुँदैन् भन्ने निष्कर्षमा मन्त्री विरोध खतिवडा देखिएका छन् ।
‘अरु विदा पाउँदा त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अस्पताल निर्देशकहरुसंग सल्लाह सुझाव मागिनेछ । तर त्यसबापत आर्थिक भार थपिने गरी चाहि होईन,’ ती अधिकारीले भने ।
सम्पर्क इमेल : [email protected]