नेपाल फर्मा एक्स्पो – २०२२ चितवनमा आजबाट सुरु हुँदै
उदघाटनका लागि राष्ट्रपति भण्डारी दिउसो १ बजे भरतपुर जाँदै
काठमाडौँ, ९ बैशाख । औषधि तथा औषधिजन्य सामग्रीहरुको बृहत प्रदर्शनी नेपाल फर्मा एक्स्पो २०२२ आजबाट चितवनमा सुरु हुँदैछ । नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा हुन लागेको एक्स्पोको आज दिउसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले चितवन एक्स्पो सेन्टरमा पुगेर उदघाटन गर्नेछिन् ।
एक्स्पोको मिडिया संयोजक सन्तोष बरालले यस पटकको एक्स्पो नेपालमा औषधी उत्पादन क्षेत्रले अगाल्दै आएको ज्ञान तथा प्रविधीको विस्तार गर्ने अभियान सहित हुन लागेको बताए । उनले यो एक्स्पोले नेपालमा उत्पादन भइरहेको औषधी उत्पादनको प्रविधी र यसमा अपनाइएका संवेदनशिलताको बारेमा जनमानसमा सचेतना दिने,नेपालको औषधी उत्पादनलाई अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन अझ प्रविधी मैत्री र दक्षता प्रदान गर्ने, औषधी प्राबिधिक र फर्मासिस्टहरुलाई अन्तराष्ट्रिय स्तरको नविन प्राविधिक ज्ञान दिने विश्वास लिएको बताए ।
एक्स्पोमा १६० स्टल रहनेछन । औषधी क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न १२३ वटा बहुराष्ट्रिय कम्पनी, र ३७ वटा नेपाली औषधी उद्योगहरु समेत एक्स्पोमा भाग लिने बताइएको छ । एक्स्पोमा विभिन्न विषयमा टेक्निकल सेमिनार हुनेछन भने सञ्चारमाध्यमको सहजताको लागि मिडिया सेन्टरको व्यवस्था गरिएको उल्लेख छ ।
एक्स्पोमा करिव ३० हजार अवलोकनकर्ताहरुले भ्रमण गर्ने एपोनले विश्वास लिएको समेत संयोजक बरालले बताए । एक्स्पो अवलोकनका लागि आउने व्यक्तिहरुलाई यातायातको समेत सुविधा रहेको र सटल बस, फुड कोर्ट, पार्किङ लगायतको व्यवस्था मिलाइएको बताए ।
स्वदेशी उद्योगहरुले उत्पादन गर्दै आएका औषधी र औषधी उत्पादनमा प्रयोग हुने प्रविधी, ल्याव, मेसिनहरु, कच्चापदार्थ, प्याकेजिङ मेटेरियल लगायतहरुमा भएका बिकासहरुको प्रदर्शनी प्रत्येक दुई बर्षमा नेपाल फर्मा एक्स्पो मार्फत गर्दै आएको बताउँदै बरालले सन् २०२१ मा हुनुपर्ने नेपाल फर्मा एक्स्पो बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ संक्रमणको कारणले गर्दा रोकिएको बताए ।
सम्पर्क इमेल : [email protected]