पाल्पाको युनाइटेड मिसन अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम निरन्तर

पाल्पा, ६ बैशाख । तानसेनस्थित युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । अस्पतालले सोमबार विज्ञप्ती जारी गर्दै स्वास्थ्य बीमा कार्यक्रम निरन्तर चल्ने बताएको हो ।
यसअघि १८ चैतमा अस्पतालले सूचना जारी गर्दै स्वास्थ्य बीमा बोर्डबाट स्वास्थ्य उपचार वापतको ठूलो रकम सोधभर्ना बाँकी रहेको भन्दै तत्काल रकम भुक्तानी नभए ६ बैशाख देखि स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने चेतावनी दिएको थियो ।
सोमबार अस्पतालले जारी गरेको विज्ञप्तीमा बीमा बोर्डबाट बक्यौतामध्येको २ करोड ७५ लाख ७४ हजार रुपैयाँ प्राप्त भएको र आगामी दिनमा हरेक महिना भुक्तानी गर्ने भन्ने समझदारी भएकोले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको उल्लेख छ ।
अस्पतालका निर्देशक डा रचेल कारकले जारी गरेको विज्ञप्तीमा १८ चैतको निर्णयमाथी प्रमुख जिल्ला अधिकारी, पत्रकार, राजनीतिक दलका नेता तथा सरोकारवालाको ध्यानाकर्षण भएको अस्पतालको दीर्घकालिन सेवा सुविधा सुचारु गर्नका दिएको योगदानको प्रशंसा समेत गरिएको छ ।
२०७२ सालमै स्वास्थ्य बीमा कार्यक्रम लागू भएको पाल्पा अहिले देशकै सबैभन्दा बढी प्रतिशत बीमामा आवद्ध भएको जिल्ला समेत हो । त्यहि जिल्लाको मुख्य मानिएको मिसन अस्पतालले सेवा रोक्ने घोषणा गर्दा बीमा कार्यक्रमको व्यवस्थापनमा समेत नराम्रो छाप बस्न आँटेको थियो ।

सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

