स्वास्थ्य बीमाको उपचार सेवा झन्झटिलो बनाइयो भन्दै एमाले पाल्पाद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण
पाल्पा, ३० फागुन । स्वास्थ्य बीमामा आवद्ध नागरिकले पाउनु पर्ने सहज उपचार सेवा नभएको भन्दै नेकपा एमाले पाल्पाले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।
पार्टीका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको देउवालाई पत्र पठाई जिल्लाको स्वास्थ्य वीमा र उपचार सेवाबारेमा ध्यानाकर्षण गराएका हुन् ।
प्रधानमन्त्रीलाई पठाएको पत्रमा भनिएको छ, ‘अस्पतालमा उपचार गर्न जाने जनताले पेश गर्नुपर्ने बीमा सिफारिस प्राप्त गर्न गरिएको झन्झटिलो प्रवन्ध, लामो लाइनमा बस्नु पर्दा झन गम्भीर हुने स्थिति, स्वस्थ मानिस फेरी आफै पनि बिरामी हुने गरिएको असहज व्यवस्थाले सास्ती भोग्नु परिरहेको छ । यसले आम नागरिक वाक्क दिक्क मात्रै होइन आक्रोशित भएका छन् ।’
यस्तै पत्रमा वीमामा आवद्ध भएकाहरुको उपचार गर्ने भनेर तोकिएका जिल्लाका दुई ठूला अस्पतालहरु लुम्बिनी मेडिकल कलेजमा दैनिक २०० जना र मिसन अस्पतालमा १०० जनाको मात्रै उपचार हुने र त्यसभन्दा बढी बिरामीलाई फर्काउने गरेको खबरले स्तव्ध तुल्याएको बताइएको छ ।
जिल्ला अध्यक्ष घिमिरेले लेखेको पत्रमा वीमामा आवद्ध व्यक्तिले उपचारका लागि सिफारिस पाउनै झन्झट र पाइसकेकाहरुले अस्पताल पुगेर उपचार नपाई फर्कर्नुपर्ने अवस्थाको तत्काल अन्त्य गर्न र यो सुविधा सहज रुपमा उपलव्ध गराउन तत्काल कदम चाल्न भनिएको छ ।
हेर्नुहोस पत्र
सम्पर्क इमेल : [email protected]