ललितपुर महानगरद्धारा तीनवटा क्षेत्रलाई धूमपान निषेधित क्षेत्र घोषणा

324
Shares

काठमाडौँ, २१ फागुन । ललितपुर महानगरपालिकाले तीनवटा क्षेत्रलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको छ । महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसर क्षेत्रलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको हो ।

शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको हो।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सरकारले बनाएको सुर्ती नियन्त्रण सम्वन्धी कानूनको कार्यान्वयनको प्रारम्भ गरेको बताए ।

सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा धूमपान तथा सुर्ती सेवन गर्न नपाईने व्यवस्था उल्लेख छ ।
मेयर महर्जनले आफूले यो कार्यक्रम दुई वर्ष अघि नै सुरु गर्ने योजना बनाए पनि कोभिड -१९ का कारण त्यो कार्यक्रमलाई अघि बढाउन नसकिएको बताए ।

घोषणा कार्यक्रममा उनले शुरुवाती सात दिनसम्म आम सर्वसाधारणलाई त्यस क्षेत्रमा धूमपान तथा सुर्तीजन्य पदार्थ निषेध गरिएको जानकारी दिने र जनचेतना फैलाउने, त्यसपछि पनि अटेरी गर्नेलाई जरिमाना तिराउने योजना रहेको बताए ।

उनले उक्त कार्यको अनुगमनका लागि नगर प्रहरी परिचालन गरिने र जरिवानाको शुल्क क्यान्सर रिलिफ सोसाइटी लगायतका संस्थालाई दिन सकिने उल्लेख गरे ।

‘तपाईँहरुले धूमपान नगरिदिनुस, किनभने हामीले (ललितपुर महानगरले) विभिन्न नयाँ नौला कामहरु गर्दैछौँ । तपाईँहरुले त्यो काम हेर्दै जानु पर्छ । त्यसका लागि तपाईँहरु लामो समय बाँच्नुपर्छ । स्मोकिङ किल्स भन्ने जो भनाई छ । त्यो सतप्रतिशत करेक्ट छ । त्यसैले स्मोकिङ गरी व्यर्थमा ज्यान नगुमाउनुस् ,’ मेयर महर्जनले भने ।

कार्यक्रममा उनले सरकारले विभिन्न कानून तर्जुमा गरे पनि कार्यान्वयन नगरेको ठोकुवा गर्दै महानगरपालिकाले भने लापरबाही नगरी कार्यक्रम सफल बनाउने प्रतिवद्धता जनाए।

सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन २०६८ ले सार्वजनिक स्थलमा धुम्रपान निषेध गरेको, शिक्षण संस्था र त्यसको १०० मिटर वरपर धूमपान गर्न, सुर्तीजन्य पदार्थ बेचविखन गर्न रोक लगाएको स्मरण गर्दै मेयर महर्जनले शुक्रबार बाटै तीन क्षेत्रमा लागू गर्ने र आगामी दिनमा अन्य क्षेत्रमा विस्तार गरिने बताए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *