बीपी स्मृति अस्पतालले सुरु गर्‍यो ‘टोटल हिप रिप्लेसमेन्ट सर्जरी’ सेवा

1.9k
Shares

काठमाडौँ, ६ फागुन । बसुन्धारास्थित बीपी स्मृति सामुदायिक अस्पतालमा कम्मरको जोर्नी प्रत्यारोपण (टोटल हीप रिप्लेसमेन्ट सर्जरी) गरिएको छ । गत साता काठमाडौँ धापासीका ३१ वर्षीय युवकको अर्थोपेडिक सर्जन डा. सुनिलसिंह थापा नेतृत्वको टोलीले कम्मरको जोर्नी प्रत्यारोपण गरिदिएको हो ।

नेपालमा ‘टोटल हिप रिप्लेसमेन्ट’ सेवा केही ठूला सरकारी र निजी अस्पतालहरुमा हुँदै आएको छ ।

‘यो आफैमा जटिल र महंगो उपचार हो । तर हामीले सरकारी दरमै सहज ढंगले यो उपचार सेवा दिन सफल भयौँ,’ अस्पतालका कार्यकारी निर्देशक डा. धनवहादुर राना मगरले भने ।

सर्जरीको नेतृत्वको गरेका अर्थोपेडिक सर्जन डा. थापाका अनुसार ती युवकमा कम्मरको जोर्नीको गेडिमा रक्तसञ्चार बन्द भई खिइएको अवस्था अर्थात ‘एभास्कुलर नेक्रोसिस’को समस्या थियो । खिईएको भागलाई निकालेर त्यसमा आफूहरुले कृतिम गेडि अर्थात ‘प्रोस्थेसिस’ राखेर शरीरलाई ‘फिट’ गरिदिएको थापाले बताए ।

सर्जरीमा डा. थापाको नेतृत्वमा डा. समाज गौतम, डा. तोयाराज भट्ट, एनेस्थेसियामा डा. हिरा खड्का सहितको टोली सहभागी थियो ।

‘यो सर्जरीमा प्रयोग हुने प्रोस्थेटिक नै महंगो हुन्छ । त्यसैले पनि अन्य सर्जरी भन्दा यो महंगो हो । तर वीपीमा सहुलियत दरमा अझ भनौँ सरकारी दर भन्दा बढी नहुने गरी नै यो सेवा दिन सफल भयौँ । हाम्रो अस्पतालमा टोटल हिप रिप्लेसमेन्ट सर्जरी पहिलो थियो । अब भने हामी नियमित रुपमा यो सेवा दिन सक्षम भएका छौँ,’ कार्यकारी निर्देशक डा. रानाले भने ।

उनले आफ्नो अस्पतालमा अत्याधुनिक अपरेसन थिएटर मात्रै नभई दक्ष चिकित्सक समेत रहेकाले यस्ता जटिल सेवाहरु सहज रुपमा दिन सफल भएको समेत स्पष्ट पारे ।

उनले बीपीमा दुरविन बिधिबाट घुडाको लिगामेन्ट फेर्ने सर्जरी, ढाडको सर्जरी जस्ता अर्थो तर्फका र न्युरो, युरो, इएनटी, गाइनो अव्सका सर्जरी समेत हुने गरेको बताए । यस्तै बाल, छाती, मुटु देखि मिर्गौला लगायतका सबै रोगको विशेषज्ञ चिकित्सकद्धारा उपचार हुने समेत जानकारी दिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *