औषधि व्यवसायी आचार्यले १ लाख १० हजार ट्यावलेट सिटामोल दाङ पठाए
काठमाडौँ, १९ माघ । औषधि व्यवसायी एवं नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले आफ्नो गृह जिल्ला दाङका लागि १ लाख १० हजार ट्यावलेट सिटामोल पठाएका छन् । उनले आफ्नो व्यक्तिगत पहलमा मंगलबार सो परिमाणमा सिटामोल दाङ पठाएका हुन् ।
‘आफू एक औषधि व्यवसायी, आफ्नै जिल्लामा सिटामोल जस्तो अत्यावश्यक औषधिको अभाव छ भन्ने खबर पाएँ । कोरोना महामारीका बेला संक्रमितहरुले सिटामोल समेत नपाएर छट्पटिएको सुनेँ । यस्तो सुन्दा साह्रै पिडा भयो । तत्काल मैले व्यक्तिगत रुपमा जोहो गरेर औषधि त्यसतर्फ पठाएँ,’आचार्यले भने ।
उनले सिटामोल आज आफ्ना बुबा युवराज आचार्य मार्फत आज दाङ कांग्रेसलाई हस्तान्तरण गर्ने तयारी भएको बताए ।
‘बुबाले नेपाली काँग्रेस दाङ जिल्ला सभापति शंकरप्रसाद डाँगीलाई हस्तान्तरण गर्नुहुन्छ । त्यसपछि पार्टीले आम सर्वसाधारणलाई आवश्यकताको आधारमा निशुल्क रुपमा वितरण गर्छ,’ आचार्यले भने ।
आचार्यले कोरोनाको दोस्रो लहर चलेका बेला रेम्डेसिभिर र अन्य अत्यावश्यक मेडिकल सामग्री समेत दाङ पठाएका थिए ।
सम्पर्क इमेल : [email protected]