खोप लगाउनका लागि १६ माघ देखि पाँच दिन विद्यालय खुल्ला गरिने

500
Shares

काठमाडौं ४ माघ । सरकारले १६ देखि २० माघसम्म पाँच दिन विद्यालय खोल्ने निर्णय गरेको छ । कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्नका लागि विद्यालयहरु खोल्ने निर्णय भएको हो । शिक्षा मन्त्रालयले यसअघि १५ माघ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । कतिपय विद्यालयहरुले यसबीचमा भर्चुअल रुपमा कक्षा सञ्चालन गरिरहेका छन्।

मंगलबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा गृह मन्त्रालयमा कोभिड–१९ को फैलावटलाई रोक्न र कोभिडविरुद्धको खोप लगाउने कार्यलाई प्रभावकारी बनाउन सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूबीच बसेको बैठकले यस्तो निर्णय गरेको हो।

‘यही माघ १६ गतेदेखि २० गतेसम्म विद्यालय कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि खोल्ने निर्णय भएको छ। त्यो समयमा हामीले विद्यालयमा खोप अभियान चलाउने निर्णय गरेका छौँ,’ गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख, सहसचिव प्रदीप कोइरालाले भने, ‘सम्बन्धित मन्त्रालयले सूचना जारी गर्छन् र कार्यान्वयनमा जान्छ।’

त्यस्तै, विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ। कोभिड संक्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न निर्देशन दिने निर्णय बैठकले गरेको छ।

बैठकले हवाइजहाजमा यात्रा गर्नेहरूलाई टिकट काट्दा नै खोपकार्ड अनिवार्य देखाउन पर्ने व्यवस्था गर्न भनेको छ। अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य अट्याच गर्ने व्यवस्था मिलाउन भनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *