बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि ७ र ८ कात्तिकमा खुवाईंदै

काठमाडौँ, १२ असोज । सरकारले बालबालिकाहरुलाई भिटामीन ए क्याप्सुल, जुकाको औषधि र बालभिटा खुवाउने दिन परिवर्तन गरेको छ । यसअघि आगामी २ र ३ कात्तिकका लागि तय गरेको राष्ट्रिय भिटामिन ए कार्यक्रमको मिति परिवर्तन गरी ७ र ८ कात्तिकका लागि तय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको सिफारिस अनुसार सचिवस्तरीय निर्णयबाट नयाँ मिति तय भएको भन्दै ७५३ वटै स्थानीय तहमा कार्यक्रमका लागि सहजिकरण गरिदिन मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको छ ।

राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तरगर्त सरकारले ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल, १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लाहरुमा वितरण गर्दै आएको छ ।

पूर्व निर्धारित मिति २ र ३ कात्तिकमा नेपालीहरुको महान चाड बडा दशैं पर्ने भएकोले ७ र ८ कात्तिकका लागि नयाँ मिति तय गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

सरकारले यो कार्यक्रम बर्षको दुई पटक बैशाख र कात्तिकमा सञ्चालन गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *