‘सिनोभ्याक’ले उत्पादन गरेको कोभिडबिरुद्धको खोपलाई आपतकालिन प्रयोगको अनुमति
काठमाडौँ, २१ जेठ । औषधि व्यवस्था विभागले कोरोनाबिरुद्ध प्रयोग गर्न चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई आपतकालीन प्रयोगका लागि अनमुति दिएको छ ।
सिनोभ्याकको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले पेश गरेको कागजातका आधारमा विभागले शुक्रबार उक्त खोपलाई नेपालमा अनुमति दिएको हो ।
विभागका महानिर्देशक भरत भट्टराईले शुक्रबार विभागीय निर्णय गर्दै सिनोभ्याकको खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिइएको बताए । यसअघि विभागले चीनको अर्को कम्पनी सिनोफार्म कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपलाई नेपालमा प्रयोग गर्न अनुमति दिएको थियो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ‘सुरक्षा, प्रभावकारिता तथा उत्पादन’का अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेपछि सिनोभ्याकले उत्पादन गरेको खोपलाई जुन २ तारिक आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।
कोरोनाभ्याकलाई विभागले आपतकालिन अनुमति दिए लगत्तै शुक्रबार नै बायोमेटिक्स प्रा।लि।ले आयातका लागि अनुमति मागेको छ । उसले १० दिन भित्र १० लाख खोप ल्याउने समेत जनाएको छ ।
बायोमेटिक्सका निर्देशक भीमकान्त भण्डारीले यो महिना भित्रै १० लाख डोज खोप ल्याउने गरी योजना अघि बढाएको बताए । उनले आफ्नो कम्पनीले प्रतिडोज दुई हजार एक सय रुपैयाँ तोकेर विभागसमक्ष आयात अनुमति मागेको जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]