कोरोना बिरुद्धको खोप यथाशीघ्र ल्याउने विषयमा उपप्रधानमन्त्रीले राखे बैठक
काठमाडौं, २२ बैशाख । सरकारले कोरोनाबिरुद्धको खोप यथाशीघ्र ल्याउने विषयको छलफललाई तिब्रता दिएको छ । देशमा कोरोना संक्रमण फैलनेक्रमले तिब्रता लिएका बेला खोपलाई यथाशीघ्र ल्याउने विषयमा छलफल भएको हो ।
बुधबार दिउसो कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले खोप सम्वन्धी उच्चस्तरीय बैठक राखेका थिए । उक्त बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी, मुख्यसचिव डा. शंकरदास बैरागीको सहभागिता रहेको थियो ।
बैठकमा तत्कालै नेपालमा खोप ल्याउने र त्यसका लागि खरिद प्रक्रिया यथाशीघ्र टुंगोमा पुर्याउने विषयमा छलफल भएको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए ।
सरकारले अहिले पनि भारतमा निर्मित खोपलाई प्राथमिकतामा राखेको छ । त्यहाँबाट यसअघि कोभिसिल्ड खोप आइसकेको छ भने कोभ्याक्सिन खोप ल्याउनका लागि अनुमति दिइसकेको छ । तर पछिल्लो समय भारतमा फैलिएको संक्रमणका कारण खोप आयात गर्ने नेपाल प्रयास सफल हुन सकेको छैन् ।
यतिनै बेला नेपालले अनुदानमा पाएको चिनियाँ खोप भेरोसेलको पनि प्रयोग गरेको छ । त्यसभन्दा अघि बढेर अब रुषी खोप स्फुतनिक भी ल्याउने बारेमा पनि तयारी अघि बढाएको बताएको छ ।
खोप ल्याउनका लागि यसअघि नै परराष्ट्र मन्त्रालयलाई समन्वयको जिम्मेवारी दिइएपनि स्पुतनिक भी ल्याउनका लागि प्रधानमन्त्री केपी ओली आफै पनि अघि सरेको बताइएको छ ।
सरकारले पहिलो चरणमा २१ लाख र दोस्रो चरणमा ३ लाख ७० हजार डोज कोरोनाविरुद्वको खोप लगाइसकेको छ ।
सम्पर्क इमेल : [email protected]