अक्सफोर्ड युनिभर्सिटीसंगको सहकार्यमा कोभिड-१९ को ‘रिकभरी ट्रायल’ गर्दै परिषद्
काठमाडौँ, २१ माघ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड – १९ मा अन्य औषधिको प्रभावकारिता सम्वन्धी रिकभरी ट्रायल गर्ने भएको छ । अक्सफोर्ड युनिभर्सिटीसंगको सहकार्यमा परिषदले ‘रेन्डामाइज इभ्यालुसन अफ कोभिड -१९ थेरापी’ विषयमा रिकभरी ट्रायल गर्ने भएको हो ।
‘त्यसका लागि आवश्यक इथिकल एप्रुभ सहितका सबै प्रक्रिया पुरा भईसकेका छन् । अव छिट्टै नै यो ट्रायल अघि बढाउँदै छौँ,’परिषदका सदस्यसचिव डा प्रदीप ज्ञवालीले बताए ।
उनले दुखाई तथा मुटुका बिरामीमा प्रयोग हुँदै आएको ‘एस्पिरिन’ र युरिक एसिडमा बिरामीलाई दिइदै आएको औषधि ‘कोलचिसेन’ को प्रयोग कोभिड -१९ को उपचारमा कति प्रभावकारिता हुन्छ भन्ने विषयमा ट्रायल गर्न लागेको समेत सुनाए । यी औषधिहरुको ट्रायल विश्वका विभिन्न देशहरुले गरिसकेको छ ।
डा ज्ञवालीले यो ट्रायलमा ६०० बढीलाई सहभागी गराउने समेत जानकारी दिए ।
‘यो ट्रायल भनेको पहिले नै कुनै रोगको उपचारमा प्रयोग भएका औषधिहरु कोभिड १९ को उपचारमा प्रयोग गर्दा कति प्रभावकारी हुन्छ भनेर हेर्न खोजिएको हो । अक्सफोर्ड युनिभर्सिटीले गर्न लागेको यो ट्रायल संसारकै सबैभन्दा ठूलो ट्रायल हुनेछ,’ उनले भने ।
सम्पर्क इमेल : [email protected]