कोरोनाबिरुद्धको खोप तयारी : ७६ जिल्लाबाट २ लाख बढी स्वास्थ्यकर्मीको विवरण आयो
काठमाडौँ, २८ पुस । कोरोनाबिरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी तथा त्यहाँ कार्यरत अग्रपंक्तिमा खटिने कर्मचारीलाई लगाउने योजना बनाएको सरकारले देशभरबाट उनीहरुको अध्यावधिक विवरण माग गरेको छ । अहिलेसम्म काठमाडौँ बाहेक ७६ जिल्लाबाट विवरण प्राप्त भईसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार ७६ जिल्लाबाट सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र उनीहरुलाई सघाउन अग्रपंक्तिमा खटिने कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकाहरुको संख्या भनेर २ लाख ३ सय बढीको विवरण प्राप्त भएको छ ।
काठमाडौँको ठूला सरकारी अस्पताल र निजी अस्पतालले नै विवरण पठाउन ढिलाई गरेका कारण कुल संख्या भने अझै प्राप्त हुन सकेको छैन् ।
मन्त्रालयले गत २० पुसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई देशभरका पालिकाहरुबाट ३ दिन भित्र विवरण उपलव्ध गराईदिनका समन्वय गरिदिनु भन्दै फरम्याट सहितको पत्र पठाएको थियो । सोही अनुसार संघीय मामिला मन्त्रालयले स्थानीय निकायलाई पत्र पठाई जिल्लास्थित स्वास्थ्य कार्यालयलाई विवरण उपलव्ध गराउन भनेको थियो ।
‘मन्त्रालयको पत्र र फरम्याट अनुसार ७६ जिल्लाबाट अध्यावधिक भएको बिबरण स्वास्थ्य कार्यालय हुँदै मन्त्रालय आईपुगेको छ । तर काठमाडौँ जिल्लाले अहिले पनि विवरण पठाउन सकेको छैन् । सम्भवत आज भोलिमै विवरण आउँला कि ?,’ मन्त्रालयका एक अधिकारीले भने ।
स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले नेपालमा पनि कोरोना भाइरसबिरुद्धको खोप छिटै ल्याउने र अभियानको रुपमा सुरु गर्ने बताएका छन् । उनले आएको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी र अग्रपंक्तिमा खटिने कर्मचारीहरुलाई दिइने बताएका छन् । सोही अनुसार मन्त्रालयले विवरण संकलनको मागलाई तिब्रता दिएको हो ।
सम्पर्क इमेल : [email protected]