स्वदेशी औषधि उद्योगको प्रवर्द्धन कसरी गर्न सकिन्छ ? एपोन र डीडीए पदाधिकारीबीच भयो छलफल

काठमाडौँ, १८ कात्तिक । ‘ नेपाली औषधि उद्योगको समस्या के के छन् ? स्वदेशी औषधि उद्योगको प्रवर्द्धन कसरी गर्न सकिन्छ ?’ भन्ने विषयमा औषधि व्यवस्था विभाग (डीडीए)ले नेपाल औषधि उत्पादक संघ (एपोन)संग छलफल गरेको छ ।

गत आइतबार भएको छलफलम एपोनका अध्यक्ष, उपाध्यक्ष महासचिव, पूर्व पदाधिकारी तथा प्रमुख औषधि उत्पादकहरुको सहभागिता थियो । छलफलमा विभागका महानिर्देशक भरत भट्टराईले स्वदेशी औषधि उद्योग प्रवद्र्धन गर्ने सरकारको नीति रहेको भन्दै त्यसका लागि एपोनसंग समन्वय गरेर अघि बढ्न खोजेको बताए ।

त्यसैगरी उनले एपोनले उठाउँदै आएका समस्याका विषयमा समिति गठन गरी आवश्यक निर्णय लिन सकिने जानकारी दिएका थिए । त्यसअघि एपोनका पदाधिकारीले विभागलाई २१ बुँदे समस्या र गर्नुपर्ने अन्य सात बुँदे कार्यहरुको प्रस्तुत गरेका थिए । एपोनका महासचिव विप्लव अधिकारीले स्वदेशी औषधि उद्योगको विकास तथा प्रवर्द्धनका लागि विभागले एपोनसंग छलफल गर्नु सकारात्मक भएको बताए ।

‘नयाँ महानिर्देशकले कम्तिमा हामीलाई बोलाएर हाम्रा गुनासा सुन्ने र समाधान कसरी गर्न सकिन्छ भनेर सल्लाह गर्नुभयो । यो सकारात्मक कुरा हो । हामीले आफ्ना समस्या र विभागले गर्नुपर्ने कामहरुका बारेमा लिखित रुपमा सुझाव समेत दिएका छौँ,’ उनले भने ।

छलफलपछि विभागका तर्फबाट पाँच जनाको टोली र एपोनका तर्फबाट दुई जना क्वालिटी सर्कलका सहित पाँच सहभागी हुने गरी समिति गठन गरिएको छ । सो समितिले नीतिगत, कार्यगत तथा प्राविधिक विषयमा छलफल गरी सुझाव प्रस्तुत गर्ने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय समेत गरिएको छ ।

विभागले एपोनसंग जस्तै औषधि क्षेत्रका अन्य पेशागत संस्थाहरुसंग पनि यसैगरी चरणवद्ध रुपमा छलफल गर्ने योजना भएको बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *