एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली पूर्ण लागू गर्ने प्रक्रियामा गण्डकी प्रदेश
पोखरा , २१ असोज । गण्डकी प्रदेशले पनि एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली (आईएचएमआईएस)को कार्यान्वयन प्रक्रिया अघि बढाएको छ । प्रदेशले अहिले ११ वटै जिल्ला ८५ वटा स्थानीय पालिकाका जनशक्तिलाई रिपोर्टिङ सम्वन्धी तालिम दिइरहेको छ ।
‘अहिलेसम्म तनहुँ, कास्की, स्याङ्जा, पर्वत र म्याग्दीमा तालिम सम्पन्न भईसक्यो, बाग्लुङमा भोलिबाट शुरु हुँदैछ । अरु जिल्लामा त्यसपछि सुरु गर्ने योजना छ । हरेक पालिकामा स्वास्थ्य शाखा प्रमुख र औषधि सम्वन्धी स्टोर हेर्ने फोकल पर्सन गरी दुई जनाका दरले तालिम दिइएको छ । यो महिना भित्रमा सबै जिल्लामा तालिम सक्ने योजनामा छौँ । त्यसलगै आईएचएमआईएसको कार्यान्वयन शुरु हुन्छ,’ गण्डकी प्रदेशका प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले भने ।
तालिममा स्वास्थ्यका सूचना, औषधिजन्य पदार्थको मौज्दात, खरीद, स्वास्थ्य संस्था निर्माण लगायतका कार्यहरुका विवरण अनलाइनबाट कसरी अपडेट गर्न सकिन्छ भन्ने बारेमा सिकाइने छ । ‘यसले स्थानीय तहको सूचनाहरु प्रदेश तथा केन्द्रहरुमा सहज ढंगले एकैसाथ जानकारी प्राप्त हुनसक्छ,’ डा शर्माले भने ।
यसअघि स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले आफू अन्तरगर्त रहेको तीनवटा सूचना प्रणालीलाई एकीकृत गर्ने मन्त्रिपरिषद्को दुई बर्ष अघिको निर्णयलाई कार्यान्वयनमा आएको घोषणा गरेको थियो ।
सो निर्णयपछि हेल्थ म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एचएमआईएस), लजिष्टिक म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एलएमआईएस) र हेल्थ इन्फास्टक्चर इन्फरमेसन सिस्टम (एचआईआईएस) सहितका छुट्टा छुट्टै सूचना प्रणालीलाई एकीकृत ढंगबाट सञ्चालनमा ल्याइएको थियो ।
‘स्थानीय तहबाट तीनवटा सूचना प्रणालीबाट केन्द्रमा सूचना पुग्ने गर्दथ्यो । फरक फरक पद्धतीबाट चलाइएको ती प्रणालीबाट आउने सूचनाहरु अपुरा र अधुरा समेत हुने गर्दथे । यो प्रणाली लागू भएपछि अब ती समस्याको समाधान हुन्छ,’ डा शर्माले भने ।
स्वास्थ्य सेवा विभाग एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाका प्रमुख बद्रीनाथ ज्ञवालीले सुदूरपश्चिम पछि दोस्रो चरणमा गण्डकीले आईएचएमआईएस प्रणाली लागू गरेको भन्दै खुशी व्यक्त गरे ।
उनले अब स्वास्थ्य क्षेत्रमा खोप लगाएको देखि औषधिको मौज्दात सम्म, स्वास्थ्य संस्था निर्माणको अवस्थासम्म क्षणभरमै अनलाइनमा हेर्न सकिने बताए । स्वास्थ्यको सहि सूचना पाउँदा नीति निर्माण तहमा सहजता हुने आवश्यक नयाँ योजना गर्न सहज हुने बताए ।
स्थानीय तहलाई आईएचएमआईएस प्रणालीमा आवद्धता गर्नका लागि स्वास्थ्य सेवा विभाग व्यवस्थापन महशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय र जिल्लाका स्वास्थ्य कार्यालयको समन्वय गरिरहेको छ भने अमेरिकी दातृ संस्था युएस एडले आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको छ ।
सम्पर्क इमेल : [email protected]