स्वास्थ्य मन्त्री ढकालद्वारा कोभिड–१९ अस्पतालका निर्देशकसँग छलफल

464
Shares

काठमाडौँ, २० असोज । स्वास्थ्य  तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ अस्पतालका निर्देशकसँग भर्चुअल माध्यमबाट छलफल गरेका छन्।

कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रपङ्क्तिमा रहेर काम गरिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायतले भोगिरहेका समस्या, गरिरहेका नियमित काम र स्वास्थ्य मन्त्रालयसँगको अपेक्षाका बारेमा उनले जानकारी लिएका थिए ।

सो अवसरमा मन्त्री ढकालले सबैको सहयोगले मात्र कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सकिने भएकाले ठोस उपचार नदेखिएको अवस्थामा सावधानीपूर्ण जीवनशैलीका लागि सबैलाई प्रेरित गर्नुपर्ने बताए । नजीकै आइरहेको चाडपर्वमा हुने भीडभाडले कोभिड–१९ को जोखिम अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै उनले नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पताल निर्देशकलाई निर्देशन दिए । उनले सरकारले स्वास्थ्य सामग्रीको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै बिरामी अस्पतालको गेटबाट फर्कनु नपर्नेगरी काम गर्न निर्देशन दिए ।

छलफलमा २५ जना अस्पतालका निर्देशकको सहभागिता थियो । उनीहरूले कोभिड–१९ का कारण भोगिरहेका समस्या, अहिले गरिरहेका काम र स्वास्थ्य मन्त्रालयले तत्काल गरिदिनुपर्ने काम लगायतका विषयमा मन्त्रीसँग जिज्ञासा राखेका थिए ।

मन्त्री ढकालले यसअघि स्वास्थ्यविज्ञ, प्रदेशका सामाजिक विकासमन्त्री र अन्य सरोकारवलाहरूसँग नियमित रूपमा छलफल गर्दै आएका छन् ।    रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *