स्याङ्जाको चापाकोटमा खुल्यो आँखा उपचार केन्द्र
स्याङ्जा, १५ असोज । चापाकोट नगरपालिकाको सुन्तलीटारमा स्थापना गरिएको वीएम टीपीवी फाउन्डेशन आँखा उपचार केन्द्र आजबाट सञ्चालनमा आएको छ । बीएम फाउन्डेशन र ताइवान प्रिभेन्टिभ ब्लाईन्डनेश (टीपीवी) फाउन्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापित उक्त उपचार केन्द्र आजबाट सञ्चालनमा आएको हो ।
‘ग्रामिण क्षेत्रमा आँखा स्वास्थ्य सेवा पुर्याउने उद्धेश्य थियो । आज त्यो केही हदसम्म पुरा भएको छ,’ वीएम फाउन्डेशनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले भने । उनले चापाकोटमा आँखा उपचार केन्द्र सञ्चालनमा आएसंगै सामान्य आँखा समस्याका लागि पाल्पा वा पोखरा जानुपर्ने त्यसभेगका जनताको बाध्यताको अन्त्य भएको समेत बताए ।
आँखा केन्द्रको उदघाटन भने स्थानीय वडा अध्यक्ष शंकरभक्त भण्डारीले गरेका थिए । उनले स्थानीय तहमा स्वास्थ्य सेवा पुर्याउन वी एम फाउन्डेशन र त्यसका अध्यक्ष डा. श्रेष्ठले गरेको प्रयास र पहलको उच्च प्रशंसा गरे ।
यसैबीच बीएम फाउन्डेशनले उक्त केन्द्रमा एक दिने आँखा शिविर समेत सम्पन्न गरेको छ । उक्त शिविरमा १५० जनाको आँखा परीक्षण तथा उपचार गराएको डा. श्रेष्ठले जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]