मुटुरोगबारे जनचेतना जगाउन नेपाल हार्ट नेटको कार र्‍याली

144
Shares

काठमाडौँ, १३ असोज ।  विश्व मुटु दिवसको अवसर पारीे मंगलबार विहान काठमाडौँ उपत्यकामा कार र्‍यालीको आयोजना गरिएको छ । नेपाल हार्ट नेटको आयोजनामा भएको उक्त र्‍यालीमा १० वटा कार प्रयोग गरिएको छ ।

र्‍यालीमा प्रयोग भएका कारमा मुटुरोगबाट जोगिनका लागि आवश्यक सावधानी अपनाउन लेखिएका सन्देशहरु सहितको व्यानर टाँगिएको छ ।

र्‍याली कार्यक्रमको संयोजन गरेका नेपाल हार्ट फाउन्डेशनका महासचिव समेत रहेका बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले मुटुरोग सम्वन्धी जनचेतना जगाउन कार र्‍याली आयोजना गरिएको बताए ।

‘अघिल्ला बर्षहरुमा हामीले पैदल हिड्थ्यौँ, दौडिन्थ्यौँ तर यसपटक कोरोनाका कारण यो सम्भव भएन । तै पनि जनचेतनामुलक काम गरौँ भनेर ट्राफिक प्रहरीसंग स्वीकृति लिएर कार र्‍याली गरेका हौँ,’ उनले भने ।

र्‍याली थापाथलीबाट शुरु भएर त्रिपुरेश्वर न्युरोट, जमल, घण्टाघर, रत्नपार्क, सिंहदरबार, थापाथली, बानेश्वर कोटेश्वर, पुगेर सोही बाटो फर्केर जाउलाखेल पुगेर टुंगिएको छ ।

विश्व मुटु महासंघको आह्वानमा आज विश्वभरी “मन लगाउ, मुटु बचाउ”भन्ने नाराका साथ विश्व मुटु दिवस मनाईदैछ ।

विश्वमा बर्षेनी १ करोड ८० लाख मानिसहरु मुटुको रोगका कारण मर्ने गर्दछन् । यस मध्ये विकासोन्मुख राष्ट्रहरुमा मुटु रोगबाट मर्नेहरुको संख्या ८० प्रतिशतभन्दा बढी पर्न आउँछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरुको संख्या वर्षेनी २ करोड ५० लाख पुग्ने अनुमान छ । विकासोन्मुख राष्ट्रहरुमा आज हृदयघातका कारण मृत्यु हुनेको संख्या २५% छ भने सन् २०३० सम्ममा यो संख्या बढेर ३५% पुग्ने अनुमान गरिएको छ । यसरी मुटुरोगी बढ्दै जानु हाम्रो लागी ठूलो चिन्ताको विषय हो ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा कूल जनसख्ंयाको २५% अर्थात करिव ७५ लाख जनता मुटुरोगी भएको अनुमान गरिएको छ ।

नेपालमा करिब ३० प्रतिशत वयस्क जनतालाई उच्च रक्तचाप छ, २० प्रतिशतलाई कालेस्टेरोल छ, १० प्रतिशतलाई मधुमेह छ, १ प्रतिशत बालबालिकालाई बाथ–मुटु रोग छ ।

वर्षेनी १००० बालबालिका बाथ–मुटुरोगका कारण हार्ट फेल भएर मर्ने गर्दछन् । यस्तै प्रकारले बच्चा जन्माउने बेलामा धेरै महिलाहरुको पनि बाथ–मुटुरोग कै कारण मृत्यु भैराखेको छ । ९० प्रतिशत नेपालीले मुटु मैत्रीखाना खाँदैनन् ।

करिब ५० प्रतिशत सहरिया नेपालीले आवश्यक व्यायाम गर्दैनन् । ४० प्रतिशतले चुरोट, सुर्ति सेवन गर्छन् । धेरै नेपालीलाई मानसिक तनाव छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *