कान्तिमा विपन्न वर्गका बालबालिकालाई प्रारम्भिक चरणको आकस्मिक सेवा नि:शुल्क
काठमाडौँ, ६ असोज । कान्ति बाल अस्पतालले गरीव तथा विपन्न वर्गका वालवालिकाहरुका लागि प्रारम्भिक चरणको इमर्जेन्सी सेवा निशुल्क गरेको छ । अस्पतालले आजबाट सो सेवा शुरु गरेको हो ।
यो सेवा सुरु भएपछि गरीव तथा विपन्न, साथमा कोही नभएका वा तेस्रो व्यक्तिले ल्याएका बिरामी बच्चाहरुले प्रारम्भिक चरणको इमर्जेन्सी सेवा निशुल्क प्राप्त गर्ने अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले बताए ।
यसअघि सरकारले आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा केन्द्रीय अस्पतालमा प्रारम्भिक चरणको आकस्मिक सेवा निशुल्क हुने घोषणा गरेको थियो । निर्देशक डा पौडेलले सोही घोषणा अनुसार बनाइएको कार्यविधि बमोजिम यो सेवा शुरु गरिएको बताए । उनले यो सेवा लिनका लागि अस्पतालको आकस्मिक कक्षमा वा टिकट काउन्टरमा तथा सामाजिक सेवा इकाईमा सम्पर्क गर्न र त्यस ठाँउमा गएर विरामीको अवस्था बताउन, वा कागजात छ भने त्यो पेश गर्न समेत अनुरोध गरेका छन् ।
कान्तिले यस्तो सेवा गरीव परिवार परिचय पत्र बाहक, स्थानीय पालिकाका सिफारिस पत्र बाहक, उपचार खर्च नभएका सेवाग्राही, साथमा कोही नभएका अफ्टेरो अवस्थामा परेका वा तेस्रो व्यक्तिले अस्पतालमा ल्याएका व्यक्ति वा वेवारिसे व्यक्तिका लागि लक्षित रहेको जनाएको छ । र, यो सेवाको अवधी २४ घण्टाको हुने समेत स्पष्ट पारेको छ ।
यस्तै सेवा गत हप्ता देखि राष्ट्रिय ट्रमा सेन्टरले पनि शुरु गरेको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



