केएमसी अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

0
Shares

काठमाडौँ, २७ असार । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल(केएमसी)मा विहीबार राती मृत्यु भएका एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

मृत्यु भएको एक दिन पछि अर्थात शुक्रबार (हिजो) बेलुका आएको रिपोर्टमा कोरोना भाइरसको संक्रमण देखिएको हो । कोरोना पुष्टि भएपछि मापदण्ड अनुसार संक्रमित शवलाई नेपाली सेनाले आज विहान व्यवस्थापन गरेको छ ।

अस्पतालका निर्देशक डा मुकुन्दराज जोशीका अनुसार मृतक व्यक्ति काठमाडौँ गोकर्ण निवासी हुन् । मिर्गौलामा समस्या भएर केएमसी अस्पताल ल्याइएका उनलाई गत १९ असारमा भर्ना गरिएको थियो ।

‘खासमा उहाँलाई त्रिवि शिक्षण अस्पताल लगिएको रहेछ । मिर्गौला र निमोनियाको समेत देखा परेपछि आइसीयू चाहिने भएछ । त्यहाँ आइसीयू खालि नभएपछि हामीकहाँ (केएमसी) रिफर गरिएको थियो । यहाँ ल्याएर आइसीयू र त्यसपछि भेन्टिलेटरमा राखिएको थियो । केही लक्षण मिलेकाले हामीले शुरु देखि नै सतर्कता अपनाएका थियौं । २१ असारमा नमूना झिकेर परीक्षणका लागि पठायौँ । तर रिपोर्ट नआउँदै उहाँको निधन भयो । रिपोर्ट हिजो मात्रै आयो,’ डा जोशीले बताए ।

यो संगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *