खोप बोक्ने ‘क्यारियर बक्स’ बाटै कोभिड-१९ को ‘स्याम्पल कलेक्सन’
काठमाडौँ, २६ जेठ । कोरोना भाइरस (कोभिड-१९)विरुद्धको लडाईमा अहिलेसम्म १० अर्व सिध्याएको सरकारले ‘स्याम्पल कलेक्सन’ गर्ने भाँडो (क्यारियर बक्स) भने किन्न बिर्सिएको छ । त्यसैले त केही हजारमा पाइने त्यस्ता बक्स नकिनेर नियमित खोप कार्यक्रममा प्रयोग हुँदै आएका ‘कोल्ड बस्क’ (भ्याक्सिन क्यारियर)को प्रयोग गरिरहेको छ ।
‘स्वास्थ्यकर्मीको सुरक्षाका लागि करोडौँ रुपैयाँको स्यानिटाइजर, मास्क, पञ्जा, चस्मा, जुत्ता कभर र पीपीई किनियो, यस्तै परीक्षणका लागि अवौैँका आरडीटी र पीसीआर किट किनियो, पोर्टेवल पीसीआर मेसिन किनियो, आइसोलेसन वार्डका लागि भेन्टिलेटर किनियो तर स्याम्पल कलेक्सन पछि त्यसलाई प्रयोगशालासम्म पुर्याउने भाँडो (क्यारियर बक्स) किनिएन । किन कसैको ध्यान गएन ? अचम्म लागेको छ । अहिले नियमित खोप कार्यक्रममा प्रयोग हुने ‘कोल्डचेन बक्स’ प्रयोग हुँदै आएको छ,’ एक जना स्वास्थ्यकर्मीले दुखेसो पोखे ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. झलक गौतमले देशका विभिन्न भागमा कोरोनाको पीसीआर परीक्षणका लागि स्याम्पल कलेक्सन गरी प्रयोगशालासम्म पुर्याउनका लागि खोप ओसारपसार गर्ने ‘भ्याक्सिन क्यारियर’ नै प्रयोग भएको बताए ।
उनले तत्कालको समस्या समाधान गर्नका लागि सो भाँडो प्रयोग गरेको भएपनि अब दीर्घकालसम्म त्यता प्रयोग हुँदा खोप कार्यक्रमका लागि असर हुने बताए । उनले पछिल्लो समय व्यवस्थापन महाशाखा मार्फत खोप कार्यक्रमका लागि प्रयोग भएका ती ‘भ्याक्सिन क्यारियर ‘हरु कोरोना परीक्षणका लागि नमूना संकलन गर्ने कार्यमा प्रयोग नगर्न सम्वन्धीत स्थानीय निकायलाई परिपत्र गरेको समेत जानकारी दिए ।

अहिलेसम्म प्रयोगशालामा ‘स्याम्पल’सहित आएका ‘क्यारियर बक्स’लाई त्यहाँ ‘स्याम्पल’ झिकेपछि नि:संक्रमण गर्न त्यहि छाड्ने र त्यसको सट्टा निसंक्रमण भएको अर्को बक्स दिएर पठाउने गरी व्यवस्थापन गरिएको छ ।
तर प्रदेश नं २ का कतिपय स्थानमा त्यस्तो रोटेसन नभएपछि समस्या बढेको परिवार कल्याण महाशाखाका खोप अधिकृत भरत भण्डारीले बताए । उनले भने, ‘नमूना ल्याएको भाँडो प्रयोगशालामा मै छाडेर हिड्ने काम भएछ । यसले त हाम्रो कार्यक्रमलाई समेत अभाव हुने भो ।’
अहिले खोप कार्यक्रमका लागि देशभरका ४ हजार १०० बढी स्वास्थ्यचौकीहरुमा दुईदुई वटा ‘भ्याक्सिन क्यारियर’ दिइएको छ । पछिल्लो पटक महाशाखाले दादुरा रुवेला खोप अभियानमा थप ३ हजार त्यस्ता बक्स खरीद गरेको छ ।
एउटा ‘क्यारियर बक्स’का लागि २ हजार देखि ३ हजार रुपैयाँ पर्ने बताइएको छ । कोरोना नियन्त्रणका अर्वौ खर्चेको सरकारले दुई तीन हजार पर्ने दुई चार सय क्यारियर बक्स किन्नु पर्दैन र ? 
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



