लहान अस्पताललाई कोरोना विशेष अस्पताल बनाइने

लहान, २ जेठ । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताललाई कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन गर्ने तयारी थालिएको छ ।
कोरोना भाइरसको सङ्क्रमण फैलिँदो अवस्थामा रहेकाले लहानस्थित अस्पताललाई ५० श्ययाको कोरोना विशेष अस्पताल सञ्चालन गर्ने तयारी थालिएको हो । प्रदेश नं २ का आठ जिल्लामध्ये सिरहा जिल्लाबाहेकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि लहान अस्पताललाई प्रदेश नं २ को कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन गर्ने केही दिनअघि प्रदेश नं २ सरकारले निर्णय गरेको थियो ।
सप्तरी र सिरहालगायत प्रदेश नं २ का जिल्लामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेकाले लहान अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय भएको प्रदेश नं २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए । प्रदेशका सबै जिल्लामा थप तीन–तीन सय क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा राख्ने निर्णयसमेत भएको कानूनमन्त्री यादवले बताए ।
प्रदेश सरकारको निर्णयअनुसार दुई दिनअघि सामाजिक विकास मन्त्रालयको टोलीले अस्पतालको स्थलगत निरीक्षण गरी कोरोना अस्पताल सञ्चालनको सम्भावना र चुनौतीका विषयमा आफूहरुसँग छलफलसमेत गरेको लहान अस्पतालका मेसु डा सुनिलकुमार कुशवाहाले बताए । टोलीले कोरोना अस्पताल सञ्चालनका लागि चाहिने आवश्यक पूर्वाधारसहित जनशक्ति छिट्टै पठाउने र तयारी थाल्न निर्देशन दिएको मेसु डा कुशवाहाले बताए ।
यस्तै सिरहाको लहानस्थित जेएस मुरारका क्याम्पसमा ३०० श्ययाको क्वारेन्टाइन बनाउने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले छिमेकी देश भारतबाट नेपाली फर्किने क्रम बढेकाले क्याम्पसमा क्वारेन्टाइन बनाउने निर्णय गरेको हो । कोरोना प्रभावित भारतबाट थुप्रै सङ्ख्यामा नेपाली नेपाल प्रवेश गर्ने तयारीमा रहेकाले अहिले भएका क्वारेन्टाइन अपर्याप्त भएकाले उनीहरुलाई तत्काल राख्न क्याम्पसमा क्वारेन्टाइन बनाउने निर्णय भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईँले जानकारी दिए । रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



