मानव अङ्ग प्रत्यारोपण केन्द्रमा डायलासिस सेवा पूर्ण रुपमा सञ्चालन

भक्तपुर, १३ बैशाख । मानवअंग प्रत्यारोपण केन्द्रको रुपमा परिचित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले डायलासिस सेवा पूर्ण रुपमा सञ्चालनमा ल्याएको छ ।

कोरोना महामारीपछिको लकडाउनमा शुरुको दिनमा चारघण्टा डायलासिस गर्नुपर्ने बिरामीको समय घटाएर दुई वा तीन घण्टा गर्दै आएको अस्पतालले अहिले पूरा समय पूर्ण क्षमताका साथ डायलासिस सेवा सञ्चालनमा ल्याएको हो ।

केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अहिले दैनिक ३५ वटा मेसिनबाट तीन सिफ्टमा देनिक औषत १०० जना मिर्गौलाका विरामीलाई डायलासिस सेवा दिदै आएको बताए ।

उनले भने, ‘लकडाउनपछिका शुरुका दिनमा डायलासिसका लागि चाहिने आवश्यक औषधिजन्य पदार्थको अभाव देखिएको थियो । तर अहिले त्यो सहज भएको छ । त्यसैले पूर्णक्षमताका साथ सेवा दिइरहेका छौँ ।’

अहिले सबै व्यवस्थापन गरेर बिरामीको आवश्यकताका आधारमा डायलासिसमा गरिरहेको जानकारी दिँदै उनले १०८ बिरामी डायलासिसको प्रतीक्षा सूचीमा रहेका जानकारी दिए ।

उनले अस्पतालको सेवा विस्तार गर्नका लागि स्थान अभाव भएकोले समस्या भएको बताए ।

अस्पतालमा अहिले आकस्मिक डायलासिस गर्ने बिरामी दैनिक पाँचदेखि सातजना आउने गरेका छन् ।

मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेका बिरामी तथा दाताको नियमित फलोअप परीक्षण पनि भइरहेको अस्पतालले जनाएको छ । लकडाउन पछि मिर्गौैलाको शल्यक्रिया, प्रत्यारोपण, बहिरङ्गलगायतका सेवा भने रोकिएको केन्द्रले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *