स्वास्थ्यमा १२औँ तह बढुवाको प्रक्रिया अघि बढ्यो, व्यक्तिगत विवरण पठाउन चार दिनको म्याद
काठमाडौँ, १० पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिव सरहकै मानिने प्रमुख विशेषज्ञ पद (१२ औँ) तहमा बढुवा गर्ने प्रक्रिया अघि बढाएको छ । मन्त्रालय र स्वास्थ्य सेवा विभागमा रहेका ३ वटा प्रमुख विशेषज्ञ पद अहिले सबै रिक्त छ ।
त्यहि पदमा पदपूर्ति गर्न मन्त्रालयले बढुवा प्रक्रिया अघि बढाएको हो । विहीबार प्रकाशित सूचना अनुसार मन्त्रालयले १२ औँ तहमा बढुवा हुनका लागि चाहिने न्युनतम योग्यता पुगेका स्वास्थ्य समूहका कर्मचारीलाई आगामी चार दिन भित्र व्यक्तिगत विवरण पठाउन भनेको छ । गत २ पुसमा बसेको बढुवा समितिको बैठकले २०७६ साल असार मसान्त सम्म ५ बर्ष सहसचिव पुगेका स्वास्थ्य समूहको कर्मचारीसंग व्यक्तिगत विवरण माग गरेको हो ।
कुल तीन पद मध्ये दुईवटा पद रिक्त भएको बर्ष नाघि सक्यो बाँकी एउटा पद भने गत २२ भदौ देखि रिक्त भएको हो ।
नयाँ संरचना अनुसार प्रमुख विशेषज्ञ पद स्वास्थ्य मन्त्रालयमा दुईवटा र स्वास्थ्य सेवा विभागमा एक पद रहने व्यवस्था छ ।
मन्त्रालयमा रहने दुई जना प्रमुख विशेषज्ञमध्ये एक जनाले नीति योजना तथा अनुमगन, गुणस्तर मापन तथा नियमन महाशाखा हेर्ने र अर्कोले जनसंख्या व्यवस्थापन तथा सूचना महाशाखा र स्वास्थ्य समन्वय महाशाखा हेर्ने गरी जिम्मेवारी तोकिएको छ । अर्को प्रमुख विशेषज्ञ भने स्वास्थ्य सेवा विभागको महानिर्देशक हुने प्रावधान छ ।
कानून त प्रमुख विशेषज्ञ पदमा रिक्त भएको १५ दिनमै बढुवा प्रक्रिया शुरु गर्नुपर्ने हुन्थ्यो तर मन्त्रालयले बर्षौ देखि रिक्त ती पदमा बढुवा गर्ने सुरसार नै देखाएको थिएन । अब चाहि सुरसार गरयो, स्वास्थ्य सचिव खगराज बरालले भने ।
प्रमुख विशेषज्ञ पद कहिले देखि खाली ?
तीनमध्ये दुईवटा पद पहिले नै खालि थियो । पछिल्लो पटक खाली भएको स्वास्थ्य सेवा विभागको महानिर्देशक पद हो । डा सुशीलनाथ प्याकुरेल २२ भदौमा अनिवार्य अवकाश लिएपछि बाँकी रहेको एउटा पद पनि खाली भएको थियो ।
त्यसअिघ २२ फागुन २०७४ मा विनोदमान श्रेष्ठ निवृत्त भएका थिए भने त्यसअघि नै अर्का प्रमुख विशेषज्ञ बनेका डा तरुण पौडेल ११ मंसिर २०७४ मा अवकाश पाएका थिए । झण्डै दुई बर्ष अघिबाटै खाली भएका दुईवटा पदमा नियुक्तिको सुरसार नै भएन ।
अब को को छन् लाईनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागमा महानिर्देशक बनेका डा रोशन पोखरेल, स्वास्थ्य मन्त्रालयका सहसचिवद्धय डा दीपेन्द्ररमण सिंह, स्वास्थ्य सेवा विभागका डा भीमसिंह तिंकरी, मन्त्रालयकै महेन्द्रप्रसाद श्रेष्ठ, कोशी अस्पतालका मेसु डा गुणराज लोहनी, वीर अस्पतालका मेसु डा केदार सेन्चुरी १२ औँ तह बन्ने लाइनमा हुन् । ‘नाम त यिनै हुन् । पछिल्लो पटक भएको कार्यसम्पादन मुल्यांकनमा कोही अघि होलान कोही पछि परेका छन्,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो ।
सचिव बरालले भने मूल्यांकन भईसकेको भन्दै को अघि र को पछि भनेर सार्वजनिक गर्न नमिल्ने बताए ।
सम्पर्क इमेल : [email protected]