निस्दी गाउँपालिकामा पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता टोल अभियान शुरु

68
Shares


पाल्पा, ८ पुस । घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन पाल्पाको निस्दी गाउँपालिकाले पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता अभियानलाई तीव्रता दिएको छ ।

नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप पाल्पाका निस्दी गाउँपालिकामा पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता गर्न टोल अभियान शुरु गरेको हो ।

निस्दी गाउँपालिका–४ स्थित मित्याल स्वास्थ्य चौकीले गाउँपालिकामा नै पहिलो पटक पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता टोल अभियान शुरु गरेको छ । विसं २०७३ देखि हालसम्म निस्दी–४ को मौलाथर वा साबिक मित्याल गाविस–५ को मौलाथरमा शत्प्रतिशत संस्थागत सुत्केरी भइसकेकाले मौलाथर टोलबाट अभियान शुरु गरिएको मित्याल स्वास्थ्य चौकीका प्रमुख पुरबहादुर सारुले बताए ।

गाउँपालिकाका उपाध्यक्ष रीताकुमारी अर्यालले गाउँपालिकामा सुनिश्चितता नै गर्नु आवश्यक रहेको बताउँदै टोलमा मात्र नभई वडा हुँदै सिङ्गो गाउँपालिकालाई घोषणा गर्नुपर्ने बताइन् ।

स्वास्थ्य संयोजक रेमबहादुर दिशाले अन्य गाउँपालिकामा पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेको हुनाले यस गाउँपालिकामा पनि छिटोभन्दा छिटो पूर्ण संस्थागत सुत्केरी घोषणा गर्न जोड दिइएको बताए । पूर्ण संस्थागत सुत्केरी घोषणाका लागि ९५ प्रतिशतभन्दा बढी संस्थागत सुत्केरी र ९५ प्रतिशतभन्दा बढी गर्भवती परीक्षण हुनुपर्नेछ ।

पाल्पाका पूर्वखोला र बगनासकाली गाउँपालिका पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका छन् भने अन्य स्थानीय तहले पनि सुत्केरी घोषणा गर्ने तयारीमा जुटेका छन् ।  रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *