बिरामीका लागि औषधि नकिनेको भन्दै एम्बुलेन्स चालकमाथि फार्मेसी सञ्चालकद्धारा कुटपिट

1.7k
Shares

विराटनगर १३ मंसिर । विरामीलाई आफ्नो फार्मेसीमा औषधि किन्न नपठाएको भन्दै विराटनगर महानगरपालिका- ३ स्थित विराटनगर अस्पताल अगाडी रहेको हाम्रो गोलबजार फार्मेसीका सञ्चालकले एम्बुलेन्स चालकमाथि कुटपिट गरेका छन् ।

सिरहाको धनगढी नगरपालिका ७ घर भएका फार्मेसी सञ्चालक २१ वर्षीय रबिन्द्र महतोले आफ्नो फार्मेसीमा औषधि किन्न बिरामी नपठाएको भन्दै एम्बुलेन्स चालक सुनसरीको धरान उपमहानगरपालिका ११ का ५२ वर्षीय रामकुमार राईलाई कुटपिट गरेका हुन् ।

घटना शुक्रबार विहानको हो । कुटपिटबाट पूर्णबहादुर स्मृति प्रतिष्ठानको को १ च ६४५४ नम्बरको एम्बुलेन्सका चालक राईको दायाँ आँखा र ढाडमा चोट लागेको छ ।

कुटपिटमा संलग्न फार्मेसी सञ्चालक महतोलाई भने प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतमले घटनाको बारेमा अनुसन्धान शुरु भएको बताए ।

प्रहरीकाअनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेफर गरेको सिरहाका अढाई वर्षीय बालक आशिष यादवलाई लिएर एम्बुलेन्स विराटनगर आएको थियो ।

निमोनियाले अन्तिम अवस्थामा पुगेका कारण उपचार ठीक नहुने भन्दै प्रतिष्ठानले रेफर गरिदिएपछि बालकलाई थप उपचारका लागि विराटनगर लिएर आएको चालक राईले बताए ।

उनकाअनुसार टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा एनआईसीयू खाली नभएपछि बालकलाई विराटनगरको ग्रीनक्रस अस्पताल लगिएको थियो ।

अवस्था चिन्ताजनक रहेको भन्दै ग्रीनक्रसका चिकित्सकले पनि बालकलाई भेन्टिलेटरमा राख्नु पर्ने सुझाव दिएपछि विराटनगर अस्पताल ल्याइएको उनको भनाइ छ ।

‘विराटनगर अस्पताल भित्र प्रवेश नगरिकन बिरामीका आफन्तलाई आफ्नो फार्मेसीबाट औषधि किन्ने वातावरण बनाइदिन आग्रह गर्दै केही फार्मेसी सञ्चालकले एम्बुलेन्सलाई घेरिहाले, ‘ चालक राईले भने, ‘बालकको अवस्था गम्भीर रहेका कारण एम्बुलेन्सलाई बाटो नछेक्न आग्रह गर्दा भीडमा रहेका एकजनाले म माथि दुरव्यवहार गर्दै कुटपिट गर्न थाले ।’

अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेको केही बेरमै बिरामी बालकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । डीएसपी गौतमले आफ्नो फार्मेसीमा बिरामीका आफन्तलाई औषधि किन्ने वातावरण बनाइदिन आग्रह गर्दै आएका फार्मेसी सञ्चालकले दुरव्यवहार गर्दै एम्बुलेन्स चालकलाई कुटपिट गरेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *