नर्सिङ संघको निर्वाचन ९ पुसमा, एक महिना अघिसम्म नाम दर्ता गरे भोट दिन पाइने
काठमाडौँ, १६ कात्तिक । निर्वाचन समितिले आगामी ९ मंसिरमा हुने नेपाल नर्सिङ संघको १९ औँ कार्यसमितिको निर्वाचनको तयारीलाई तिब्रता दिएको छ । निर्धारित समय भन्दा करीब डेढ बर्ष ढिला हुन लागेको निर्वाचनका सदस्यता दर्ता प्रक्रिया अघि बढाउन अवधी समेत तोकेको छ ।
शुक्रबार बसेको निर्वाचन समितिको बैठकले आगामी ९ मंसिर भित्र संघको सदस्यता लिइसकेकाहरुले मात्रै निर्वाचनमा भोट हाल्न सक्ने जनाएको छ । ‘ हामीले निर्वाचन भन्दा एक महिना अघिसम्म नयाँ सदस्यता लिन सक्ने निर्णय गरेका छौँ,’ निर्वाचन समितिका प्रमुख आयुक्त लक्ष्मी राईले भनिन् ।
नेपाल नर्सिङ परिषदमा हालसम्म ५५ हजार ५३५ नर्स, ३३ हजार ४६७ अनमी र ८४३ विदेशी नर्स गरी कुल ८९ हजार ८४५ जना दर्ता भएका छन् । तर नर्सिङ संघमा सो संख्या करीब १३ हजार मात्रै छ ।
‘अघिल्लो निर्वाचनका बेला त संख्या झण्डै आधा थियो । अहिले दोब्बर बढेको हो,’ संघकी अध्यक्ष प्राध्यापक तारा पोखरेलले भनिन् ।
उनले मुलुक संघीय संरचनामा गएको र संघको संरचना समेत परिवर्तन गर्नुपर्ने र त्यसका लागि विधान संसोधन लगायतका कामहरु हुँदा निर्वाचन केही ढिला हुन गएको बताइन । उनका अनुसार अब संघको संघीय समिति र प्रदेश स्तरीय समिति बन्ने छ । त्यो सबैको निर्वाचन एकैपटक गर्ने कि छुट्टा छुट्टै गर्ने भन्ने विषयमा भने निर्णय भईनसकेको उनले बताइन ।
सम्पर्क इमेल : [email protected]