प्रधानमन्त्री ओलीको रगत सुद्धिकरण गरियो, डिस्चार्ज कहिले ?
काठमाडौँ, १४ कात्तिक । ‘ प्रधानमन्त्री ज्यूको रगत सुद्धिकरण गरिएको छ । त्यो कुन प्रविधिबाट भयो मैले भन्दा पनि यो उपचारमा सम्लग्न चिकित्सकले भन्ने कुरा हो,’ खासमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भएको के हो ? भन्ने प्रश्नको जवाफमा प्रेस सल्लाहकार डा कुन्दन अर्यालले यसरी जवाफ दिए ।
धेरै मिडियाबाट प्रधानमन्त्रीको हेमोडायलायसिस भएको खबर सार्वजनिक भइरहँदा सचिवालयले न त्यो खबर सहि हो भनेको छ न त गलत नै । बरु चिकित्सक टिम र सचिवालय टिम प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सूचना सकेसम्म लुकाउने प्रयासमा लागेको देखिन्छ ।
प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्या सिंह शाह मिडियासंग बोलेकी छैनन् । अर्का निजी चिकित्सक डा दिलिप शर्मा त मोवाइल बन्द गरेर बसेका छन् । उपचारमा सम्लग्न अर्का डा प्रेम ज्ञवाली प्रधानमन्त्रीको स्वास्थ्य उपचारका बारेमा बुलेटिनमै उल्लेख हुने भन्दै पन्छिए ।
उपचारमा सम्लग्न भएका र फोन उठाउने प्रधानमन्त्रीको स्वास्थ्य सामान्य भएको बताए । तर के उपचार भै रहेको छ भनेर भनिएको छैन । यसले सामान्य विषयलाई झनै ठूलो बनाउन मद्धत गर्छ ।
प्रेस सल्लाहकार अर्यालले डायलासिस नभई अर्को विधिबाट रगत सुद्धिकरण गरेको बताएका छन् । उनको आसय अल्ट्रा–फिल्ट्रेसन विधि बाट प्रधानमन्त्री ओलीको शरीरको रगत सुद्धिकरण गरिएको छ । यो विधिबाट शरीरबाट बढी भएको पानी र विकारका बस्तुहरु बाहिर निकालिन्छ ।
केही बेर अघि अस्पतालमा प्रधानमन्त्रीलाई भेटन पुगेका डा अर्यालले आफूसंग प्रधानमन्त्री ओलीले छिटै बालुवाटार फर्कने बताएको जानकारी दिए । ओलीको उपचार गर्ने टिममा रहेका ग्राण्डी अस्पतालका निर्देशक डा चक्रराज पाण्डे र डा दिलिप शर्माले सकेसम्म आजै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी रहेको आफूलाई सुनाएको समेत अर्यालले बताए ।
सम्पर्क इमेल : [email protected]