आयुर्वेदिक उपचार बिरुद्धका भ्रम चिर्ने योजना बनाउँदै विभागले मनायो धनवन्तरी दिवस
काठमाडौँ, ९ कात्तिक । पूर्वीय दर्शन र आयुर्वेद चिकित्साः स्वस्थ, समृद्ध नेपालको आवश्यकता भन्ने मुल नाराका साथ आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागले धनवन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाएको छ ।
दिवसको पूर्वसन्ध्या अर्थात शुक्रबार विभागमा भएको कार्यक्रममा विभागका महानिर्देशक डा बासुदेव उपाध्यायले धनवन्तरी जयन्ती, आरोग्य दिवससंगै आयुर्वेदिक उपचार पद्धतीका बारेमा बोलेका थिए ।
मानव सभ्यताको उत्पत्तिसंगै धनवन्तरीको अस्तित्व भेटिएको भन्दै उनले त्यसैबाट आयुर्वेदको जन्म भएको बताए । ‘यसकारण पनि हामी धनवन्तरीलाई आयुर्वेदका प्रणेता र प्रवर्तक मान्दछौँ,’ उनले अगाडी थपे, ‘हजारौँ बर्ष अघि उनैले सृष्टि गरेको आयुर्वेद अहिले पनि जन स्वास्थ्यमा उत्तिकै महत्व मानिन्छ ।’
महानिर्देशक डा उपाध्याय आयुर्वेदलाई उपचार गर्ने पद्धतीमा मात्रै सिमित राख्न चाहँदैनन् । उनी भन्छन्, ‘यो त मानिसको खानपान र जीवन शैली सिकाउने मुख्य विधा हो । नसर्ने रोग ६२ प्रतिशत पुग्दा त्यसलाई नियन्त्रण गर्ने उपाय आयुर्वेदिक उपचार पद्धतीमा जस्तो सहज अरु पद्धतीमा छैन । कति खाने ? कति सुत्ने ? के खाने कसरी खाने ? मात्रै होइन । शारीरिक तन्दुरुस्तीका लागि कसरी योग गर्ने व्यायम गर्ने र ध्यान गर्ने पनि यसले सिकाएको हुन्छ । त्यसैले यो अहिलेको समयमा निकै सान्दर्भिक छ ।’
कार्यक्रममा आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा प्रकाश ज्ञवालीले आयुर्वेदले औषधि खान भन्दा पनि गुणस्तरीय जीवन जीउन सिकाएको बताए । उनले आयुर्वेदको ज्ञान नभएका कतिपय एलोपेथिक चिकित्सकहरुले भ्रमपूर्ण प्रचार गर्दै हिडेको भन्दै उनले आपत्ति समेत जनाए ।
कतिपय एलोपेथिक चिकित्सकले आयुर्वेदका कारण मधुमेहको समस्या तथा मिर्गौला फेल हुने दर बढेको बताउँदै आएका छन् । उनले भने, ‘आयुर्वेदकको जसलाई ज्ञान नै छैन्, उसले हचुवाको भरमा आयुर्वेदमाथि दोषारोपण गर्दै हिनेको छ । पद्धती बाहिर गएर उपचार गर्दा त सिटामोलले समेत असर गर्दछ ।,’
कार्यक्रममा अन्य आयुर्वेदिक चिकित्सकहरुले धनवन्तरी, राष्ट्रिय आरोग्य दिवस र आयुर्वेदिक उपचार पद्धतीका बारेमा बोलेका थिए ।
सम्पर्क इमेल : [email protected]