कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापना

184
Shares

सिञ्जा, १८ भदौ । यहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन प्लान्ट स्थापना गरेपछि अक्सिजन प्रयोग गरी उपचार गर्नुपर्ने बिरामीका लागि ठुलो सुविधा भएको छ । सो अक्सिजन प्लान्टको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले आज उद्घाटन गरे ।

अक्सिजन प्लान्टले हरेक दिन ७० वटा सिलिण्डरसम्म उत्पादन गर्नेछ भने विद्युत् आपूर्तिको समस्याले गर्दा तत्काल दैनिक कम्तीमा १० सिलिण्डर उत्पादन भइरहेको छ ।

कार्यक्रममा मन्त्री भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णाली प्रदेशकै गौरवको स्वास्थ्य विश्वविद्यालय भएकाले यसले कर्णालीका जनताको स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानमा नयाँ नयाँ पहलकदमी लिनुपर्ने बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएयता जुम्लामा स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानका काम भइरहेका छन् । प्रतिष्ठानले इमर्जेन्सी सेवा, आइसियु सेवा, शल्यक्रिया सेवा, नेत्ररोग सेवा, हाडजोर्नी, दन्तरोग, छाला रोग, महिला तथा स्त्रीरोग, बालरोग, रेडियोलोजी, एक्सरे, ल्याब, पिछडिएको क्षेत्रमा हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालीकोट, रुकुम, सुर्खेतमा विशेषज्ञ सेवा, अछाम, बझाङ, बाजुरामा घुम्ती स्वास्थ्य सेवा, सामुदायिक स्वास्थ्य सुरक्षा कार्यक्रम तथा फार्मेसी सेवा दिइरहेको छ । त्यस्तै प्रवीणता नर्सिङ, जनरल मेडिसिन, स्नातक मिडवाइफेरी नर्सिङ, पब्लिक हेल्थ पढाइ भइरहेको छ ।

हाल ३०० श्ययाको अस्पताल सञ्चालनमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णाली प्रदेशको मेडिकल टुरिजमको नयाँ गन्तव्य हुने देखिन्छ ।   रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *