तेस्रो राष्ट्रिय मिडवाइफ्री सम्मेलन आगामी २१ र २२ बैशाखमा
काठमाडौँ, १९ बैशाख । तेस्रो राष्ट्रिय मिडवाइफ्री सम्मेलन आगामी २१ र २२ बैशाखमा काठमाडौँमा हुने भएको छ । हरेक तीन तीन बर्षमा हुने यो सम्मेलन मिडवाइफ्री सोसाइटी अफ नेपालको आयोजनामा हुन लागको हो ।
अन्तराष्ट्रिय मिडवाइफ दिवसको अवसर पारेर गर्न लागिएको यसपटकको सम्मेलनको नारा मिडवाइफहरु सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारको पैरवीकर्ता भन्ने छ ।
सम्मेलनको मुख्य उदेश्य राष्ट्रिय तथा अन्तराष्ट्रिय नर्स मिडवाइफ, प्रसूति विशेषज्ञ चिकित्सक, विद्यार्थी मिडवाइफ, महिला अधिकारकर्मी, नीति निर्माता, सुरक्षित मातृत्व सेवासंग सम्वन्धित सम्पूर्ण सरोकारवालाहरुलाई यौन, प्रजनन स्वास्थ्य, मातृशिशु तथा किशोरीहरुको स्वास्थ्य क्षेत्रमा ज्ञान सिपमा जोड दिने सोसाइटीकी अध्यक्ष लक्ष्मी तामाङले बताइन ।
सम्मेलनमा नर्स, मिडवाइफ्री सेवाप्रदायक, चिकित्सक, विद्यार्थी, विद्यार्थी मिडवाइफ, जनस्वास्थ्यकर्मी, नीति निर्माता, अधिकारकर्मी गरी करीब ३०० जनाको सहभागिता हुने बताइएको छ ।
सम्मेलनको उदघाटन स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले गर्ने कार्यक्रम छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



