रुपन्देहीमा कान्तिपुरको बृहत निशुल्क स्वास्थ्य शिविर, १२९३ जनाको परीक्षण
बुटवल, २६ चैत । रुपन्देहीको तिलोत्तमामा गत मंगलबारबाट तीन दिनसम्म चलेको बृहत निशुल्क स्वास्थ्य शिविरमा १ हजार २९३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । तिलोत्तमास्थित श्रीकोट हिमाई मिसुजु आधारभुत विद्यालय परिसरमा सञ्चालित उक्त शिविरमा परीक्षण पश्चात थप उपचार गर्नपर्ने केहीलाई अन्य अस्पतालमा रिफर गरिएको छ ।
बीएम फाउन्डेशन, कान्तिपुर डेन्टल कलेज हस्पिटल बसुन्धरा, कान्तिपुर डेन्टल सेन्टर भलवारीको संयुक्त आयोजनामा भएको उक्त स्वास्थ्य शिविरलाई रोटरी क्लव अफ काठमाडौँ नर्थ डिस्ट्रिक ३२९२, रोटरी क्लव अप भैरहवा, रोटरी क्लव अफ म्याथ्युज आरआई डिस्ट्रिक ७६८०, ताइवान प्रिभेन्टिभ व्लाइन्डनेशन फाउन्डेशन, सुपा महिला सहकारी लिमिडेटको सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा सामान्य चिकित्सा सहित मुख तथा दन्त स्वास्थ्य र आँखा स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसका लागि काठमाडौँस्थित कान्तिपुर जनरल हस्पिटलबाट ८ जना, कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलबाट २२ जना र भैरहवास्थित युनिभर्सल मेडिकल कलेजबाट १२ जना गरी ४२ जना मेडिकल टिम परिचालित थिए ।
शिविरमा सामान्य तथा स्त्री रोगका गरी ४४३ जना, दन्त परीक्षण ४५० जना र आँखा परीक्षण गर्नेको संख्या ४०० जना थियो । उपचारमा सहभागी आँखा विशेषज्ञ डा आरपी साहले परीक्षणका क्रममा ५० भन्दा बढीको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको बताए । उनीहरुलाई थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा रिफर गरिएको जानकारी दिए ।
यस्तै शिविरमा सहभागि कान्तिपुर जनरल हस्पिटलकी स्त्रीरोग विशेषज्ञ डा दीपशिखा मिश्रले अधिकांशमा आङ खस्ने समस्या बढी आएको बताइन । उनले परीक्षणका क्रममा ३४ जनाको आङ खस्ने समस्या भएको, केहीलाई पेल्वीक इन्फ्लामेटरी डिजिज रहेको बताइन ।
शिविरमा जनरल मेडिसिन अन्तरर्गत छाती, पेट, स्त्रीरोग, बालरोग, मुख तथा दन्त र आँखा जाँचको समेत व्यवस्था मिलाइएको थियो । शिविरमा मुख तथा दन्त परीक्षणका लागि मोवाइल भ्यान समेत लगिएको र दाँत भर्ने, निकाल्ने र सफा गर्ने सुविधा समेत दिइएको शिविर संयोजक कान्तिपुर जनरल हस्पिटलका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले बताए ।
सम्पर्क इमेल : [email protected]