स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको पाँचौ शिखर सम्मेलन आगामी बुधबारबाट
काठमाडौँ, २५ चैत । आगामी बुधबार देखि शुरु हुन लागेको स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको पाँचौँ शिखर सम्मेलनको तयारी पुरा भएको छ । सम्मेलनको मुख्य आयोजक नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।
बबरमहलस्थित कार्की ब्याङकेट हलमा हुने तीन दिने सो सम्मेलनमा १ हजार बढीको सहभागिता हुने बताइएको छ । सम्मेलनमा नेपाल सहित भारत, अमेरिका, जर्मनी र चीनका विशिष्ठ बैज्ञानिकहरुको सहभागिता हुने परिषदका कार्यकारी अध्यक्ष डा. अन्जनीकुमार झाले बताए ।
परिषदले यसपटक पनि सम्मेलनका लागि एब्स्ट्रयाक आवहान गरेको थियो । त्यसमा कुल २७७ वटा अनुसन्धान सम्वन्धी एब्स्ट्रयाक परेका थिए । तर स्यान्टेफिक कमिटिले १३७ वटा एब्स्ट्रयाक मात्रै छनौट गरेको छ । ‘सो सम्मेलनमा ३३ वटा मौखिक र १०४ वटा पोष्टर प्रस्तुति हुनेछन्,’ अध्यक्ष डा. झाले भने ।
यसपटकको सम्मेलनमा स्वास्थ्य समता र विकास, सामाजिक स्वास्थ्य बीमा, नसर्ने रोग, मातृ स्वास्थ्य, बाल स्वास्थ्य र किशोर किशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, सरुवा रोग, जैबिक स्वास्थ्य र स्वास्थ्य सूचना, स्वास्थ्य प्रणाली, हेल्थ इकोनोमिक्स तथा फाईनान्सिङ र स्वास्थ्य सम्वद्र्धन, प्रविधी र आवश्यक मेडिकल उत्पादन जस्ता विषयमा प्रस्तुति दिनेछन् । उक्त सम्मेलनमा १० वटा आमन्त्रित प्रस्तुतिकरण समेत हुनेछ ।
सम्मेलनको अन्तिम दिन जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल उत्कृष्ठ कृति पुरस्कार २०१८, उत्कृष्ठ स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार २०१८, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार (चिकित्सकलाई मात्र), मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्इ अनुसन्धानकर्ता पुरस्कार, स्वास्थ्य अनुसन्धान लाइफ टाइम एचिभमेन्ट पुरस्कार, उत्कृष्ठ मौखिक प्रस्तुति पुरस्कार र उत्कृष्ठ पोष्टर प्रस्तुति पुरस्कार ७ जनालाई दिइने छ ।
परिषदले पछिल्लो पाँच बर्ष देखि आफ्नो स्थापनाको दिन पारेर स्वास्थ्य तथा जनसंख्या सम्वन्धी बैज्ञानिक सम्मेलन गर्दै आएको छ । यसपटकको नारा “संघिय प्रणालीमा समता र विकासका लागि अनुसन्धान” भन्ने रहेको छ ।
सम्पर्क इमेल : [email protected]