प्रदेश नं १ को निर्णय : सूर्तीजन्य पदार्थ बोक्नेले अब मन्त्रालयमा प्रवेश नपाउने

76
Shares

विराटनगर, २४ चैत । चुरोट खैनी पानपराग गुडका जस्ता सूर्तिजन्य पदार्थ बोकेर तपाईँ प्रदेश नं १ को सामाजिक विकास मन्त्रालय जाँदै त हुनुहुन्न ? हुनुहुन्छ भने अव आफ्नो आदत बदल्नुहोस । किनभने प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले आजबाट सूर्तिजन्य पदार्थ खल्तीमा लिएकाहरुलाई मन्त्रालयमा प्रवेश निषेध गरेको छ । मन्त्रालयको गेटमा बस्ने सुरक्षाकर्मीले सबै तपाईँको खल्ती खानतलासी गर्नेछन्, सूर्तिजन्य पदार्थ भेटे जफत गर्नेछन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपाल, एक्सन नेपाल र पत्रकार महासंघ जिल्ला शाखा मोरङको संयुक्त आयोजनामा गत शुक्रबार विराटनगरमा भएको सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धि कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारले तत्कालै केही काम शुरु गर्ने बताएका थिए । सोही दिन उनले मन्त्रिस्तरीय निर्णय गर्दै आइतबार (आज)बाट मन्त्रालयमा प्रवेश गर्दा सूर्तिजन्य पदार्थको खान तलासी गर्ने कार्य शुरु गरेका हुन् ।

सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धी कार्यक्रममा गएर जनस्वास्थ्यमा पार्ने असरबारेमा जानकारी लिएपछि शुभकार्यमा किन ढिलाई गर्ने भनेर सोही दिन नै आजबाट लागु हुने गरी निर्णय भयो । मन्त्रीका निजी सचिव हिक्मत बस्नेतले भने, ‘आज विश्व स्वास्थ्य दिवसको अवसर पारेर यो कार्यक्रम शुरु गरिदैछ ।’

मन्त्रालयले दिउसो ३ बजे एक औपचारिक कार्यक्रम गरी मन्त्रालयमा सूर्तिजन्य पदार्थ लिएर जान नपाइने कार्यको सुरुवात गर्दैछ । आजको कार्यक्रममा प्रदेश नं १ अन्तरगर्त १४ वटै जिल्लाका स्वास्थ्य प्रमुखहरु, विद्यालय नर्सिङ कार्यक्रम लागू भएका जिल्लाका प्रधानध्यापकहरु, सञ्चारकर्मीहरुको सहभागिता हुने बताइएको छ ।

‘आज दिवसको अवसर पारेर मन्त्रालय परिषरबाट यो कार्यक्रम शुरु गरिएको छ । अब आगामी बैशाखबाट विद्यालय, अस्पताल र सरकारी कार्यालयहरुको एक सय मिटर वरपर खरीद विक्री र सेवन गर्न नपाइने व्यवस्थाको कडाईका साथ कार्यान्वयन गर्दैछौँ । र क्रमश विराटनगरलाई स्मोकफ्रि सीटीको रुपमा अघि बढाउँनेछौँ ,’ सामाजिक विकास मन्त्री जीवन घिमिरेले भने ।

प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण गर्न देखाएको तत्परता अत्यन्त सकारात्मक रहेको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले बताए । ‘सामाजिक विकास मन्त्रालयले जो निर्णय अघि सारेको छ । यो सूर्ति नियन्त्रणका लागि अत्यन्त सुखद कुरा हो । यसलाई कडाईका साथ लागू गर्दै कानुनमा भएका बाँकी व्यवस्थाको पनि तत्कालै कार्यान्वयन हुनेछ भन्ने अपेक्षा गरेका छौँ ,’ अध्यक्ष चन्दले भने ।

स्वास्थ्य मन्त्रालयका सहसचिव बद्रीवहादुर खड्काले प्रदेश नं १ ले सूर्ति नियन्त्रण सम्वन्धी कार्यमा देखाएको तत्परताको सराहना गरे । ‘अव सार्वजनिक स्थलमा धूमपान गर्न नदिने, मापदण्ड विपरितका सूर्तिजन्य पदार्थ जफत गर्ने जस्ता कार्यलाई पनि लागू गर्नु पर्ने हुन्छ,’ खड्काले भने ।

मन्त्रालयका उपसचिव पुस्करराज नेपालले सूर्ति नियन्त्रण सम्वन्धी कानुन कार्यान्वनय गर्नेमा सात प्रदेशमध्ये १ नम्बर प्रदेश पहिलो हुने विश्वास व्यक्त गरे । उनले प्रदेशले बनाउने सूर्ति नियन्त्रण सम्वन्धी कानुनमा अझ परिवर्तन गरेर त्यसलाई कडाईका साथ लागूु गर्नुपर्ने बताए ।

सूर्तिजन्य पदार्थको कारणले नेपालमा बार्षिक २७ हजार बढीको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको अनुमान छ । यसको प्रयोगलाई न्युनिकरण गर्न सरकारले सूर्ति नियन्त्रण सम्वन्धी कानून बनाएको छ । तर यसको कार्यान्वयन अझै फितलो नै छ ।

कानून कार्यान्वयनको अवस्था तथा जनचेतना अभिवृद्धि गर्न स्वास्थ्य पत्रकार मञ्चले सूर्ति नियन्त्रण सम्वन्धी अभियानमा पैरवी गर्दै आएको संस्था एक्सन नेपालसंग सहकार्य गरी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ । सोही कार्यक्रम अन्तरग गत शुक्रबार प्रदेश नं १ को राजधानी बिराटनगर र गत विहीबार प्रदेश नं २ को राजधानी जनकपुरधाममा बृहत अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *