नेपालमा नवजात शिशु मृत्युदरको अवस्था र गरिएका प्रयासहरु

3.1k
Shares
डा कृष्णप्रसाद पौडेल, बालरोग विशेषज्ञ
डा. कृष्णप्रसाद पौडेल, प्रमुख कन्सल्टेन्ट, बालरोग बिशेषज्ञ

नेपालले सहश्राब्दी विकास लक्ष्यमा मातृ तथा पाँच बर्ष मुनिका बालबालिकाको मृत्युदर घटाउन उल्लेख्य प्रगति हासिल गरेको छ । एक वर्ष मुनिका बालबालिकाको मृत्युदर पनि लक्ष्यको नजिक नजिक पुग्न आँटेको छ । तर नवजात शिशुमृत्यु दरको उपलव्धी भने अहिले पनि सन्तोषजनक छैन ।
नेपालमा प्रतिवर्ष करिब ६ लाख ६० हजार नवजात शिशुहरुको जन्म हुने गर्दछ । यी मध्ये करिब १३ हजार नवजात शिशु जन्मेको २८ दिन भित्रै परलोक हुन्छन् । तथ्यांक भन्छ, नेपालमा अहिले पनि पाँच वर्ष भन्दा मुनिका बालबालिकाको मृत्युको करिब ५५ प्रतिशत हिस्सा नवजात शिशुको मृत्यु हुने गर्दछ ।

graf1

नवजात शिशुको मृत्युको केही कारणहरुमा संक्रमण, कम तौल, चिसोले कठ्यान्ग्रिएर वा जन्मदा निसासिएर हुने गरेको पाइन्छ । गत वर्ष केन्द्रीय तथ्यांक बिभाग ले युनिसेफको सहयोग मा गरेको मल्टिपल इन्डिकेटर क्लस्टर सर्भे ( एमआईसीएस)मा नवजात शिशुहरुको मृत्युदर २३ प्रति हजार जीवित जन्ममा भएको भेटिएको थियो । जुन अहिले सम्मकै सबैभन्दा कम र सहश्राब्दी विकास लक्ष्य एमडीजी लक्ष्य हासिल गर्नु पर्ने १६ भन्दा करिब डेढ गुना बढी हो ।

नवजात शिशुको मृत्युदरमा किन कमि हुन सकेन भन्ने विषयमा अव केन्द्रीत हुन जरुरी छ । मलाई के लाग्छ भने नवजात शिशु मृत्युदर देशको सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक विकाससंग जोडिएको हुने रहेछ । विकसित देश र विकासोन्मुख देशको तुलना गर्दा स्पष्ट हुन्छ ।
graph2

त्यसो त हाम्रो देशमा नवजात शिशुको मृत्युक मृत्युका कारणहरुको बारेमा कम अध्ययन गरिएका छन् । यद्धपी गरिएका अध्ययनले के देखाउछ भने नवजात शिशु मृत्युको प्रमुख कारणमध्ये एक संक्रमण हो । त्यसैले सरकारले नवजात शिशुहरुको उपचारमा केन्द्रीत गर्दै समुदायमा आधारित कार्यक्रम सुरु गरेको थियो ।

सोही कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई विशेष तालिम समेत दिइएको थियो । तर सो कार्यक्रमको सन् २०१३ मा गरिएको मुल्यांकनले सो कार्यक्रम लक्ष्यअनुरुप प्रभावकारी नभएको जनाउ दिएको थियो । खासगरी सो मुल्यांकनले नवजात शिशुहरु बिरामी हुँदा स्वास्थ्यसंस्था वा स्वास्थ्यकर्मी सम्म जाने प्रचलन नभएको र धेरै स्वयंसेविकाहरुले आश गरेजस्तो सेवा प्रदान गर्न नसकिएको देखाएको थियो । सोही कारण गतवर्ष देखी कार्यक्रमलाई केही परिवर्तन गरिएको छ ।

गतवर्ष देखी सञ्चालनमा आएको समुदायमा आधारित बालरोगहरुको एकीकृत व्यवस्थापन कार्यक्रमसंगै समेटेर समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रम सञ्चालित छ । 

नवजात शिशुहरुको समस्यामा केन्द्रीत रहि स्वास्थ्य संस्थाहरुमा हुने उपचार पद्धतीका लागि प्रोटोकल विकास तालिम तथा संस्थाहरुमा आवश्यक औजार उपकरणहरुको व्यवस्थापन सार्क डेभलपमेन्ट फन्ड तथा युनिसेफको सहयोगमा हुँदैछ । जसले नवजात शिशुहरुको मृत्युदर घटाउन मद्धत गर्ने विश्वास गरिएको छ ।

त्यसो त यसैबर्ष देखी नवजात शिशुहरुको उपचार तथा नवजात शिशुहरुको उपचारका लागि प्रेषण गर्दा यातायात खर्च दिने कार्यक्रम पनि नमूनाको रुपमा ४ जिल्लामा सुरु गरिएको छ ।

कान्ति बाल अस्पताल नेपालका सबै भागबाट उपचार हुन नसकेर रिफर भएर आउनेहरुको धरोहर हो । यस अस्पतालले हाल एआईसियु तथा एनआईएमसीयु तथा सर्जिकल आईसीयुको सेवा मार्फत नवजात शिशुको उपचार दिएको छ । त्यतिमात्रै होइन देशका लागि आवश्यक जनशक्तिको पनि उत्पादन गरिरहेको छ । समग्रमा देशको नवजात शिशुहरुको मृत्युदर घटाउन यस अस्पतालले अहं भूमिका खेलेको छ ।

# लेखक कान्ति बाल अस्तपालमा कार्यरत छन् 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *