नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घद्धारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

76
Shares

काठमाडौँ, २६ माघ । उपप्रधानमन्त्री र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अस्वस्थ खाना र जीवनशैलीका कारण क्यान्सर, मुटुरोगजस्ता नसर्नेखालका रोगहरुको सङ्क्रमण निकै बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन् ।

नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घले आज यहाँ आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले स्वास्थ्य सेवा निकै महङ्गो भएकाले सर्वसाधारण जनताको पहुँचमा ल्याउन सरकारले विशेष सहुलियत र सहयोगको व्यवस्थामा जोड दिएको उल्लेख गरे । उनले विपन्न वर्गका जनतालाई लक्षित गरी सञ्चालन गरिने निःशुल्क स्वास्थ्य शिविरका कार्यक्रमलाई देशभर लैजान आवश्यक रहेको बताए ।

पूर्वउपप्रधानमन्त्री एवं नेकपा(माले)का महासचिव सीपी मैनालीले सन् १९६० मा नेपाल–पाकिस्तानबीच दौंन्त्य सम्बन्ध स्थापना भएपछि दुई देशबीचको मैत्री सम्बन्ध अझ फराकिलो बन्दै आएको बताउँदै सार्कलाई क्रियाशील बनाई दुई छिमेकी हुनुको फाइदा अझ दिन सक्नुपर्ने धारणा राखे ।

सो अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत डा मजहर जावेदले नेपाली विद्यार्थीलाई पाकिस्तानमा चिकित्सालगायत विभिन्न विषयमा छात्रवृत्ति प्रदान गरी दुई देशबीचको सम्बन्धलाई जनस्तरमा विस्तार गरिएको बताउँदै यस किसिमका स्वास्थ्य शिविरलाई आगामी दिनमा अझ बढाउँदै लगिनेछ भने ।

सङ्घका अध्यक्ष हिमालयशम्सेर राणाले पाकिस्तानबाट चिकित्सा शिक्षा उत्तीर्ण गरी स्वदेश फर्किएका चिकित्सकहरुको सक्रियतामा नौ वर्षदेखि वर्षमा दुईपटक काठमाडौँ र कार्भेको धुलिखेलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिंदै आएको जानकारी दिए । सङ्घका महासचिव मञ्जुरत्न शाक्यले शहरी क्षेत्रका विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा विरामीलाई छ महीनासम्म औषधिसमेत उपलब्ध गराइने बताए। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *