सुरक्षित प्रसूतिका लागि थारु महिलाको चासो

कञ्चनपुर, २१ माघ । कञ्चनपुरको लालझाडी गाउँपालिकाको देखतभूलीका राना थारु समुदायका महिला सुृरक्षित प्रसूतिका लागि स्वास्थ्यचौकी पुग्न थालेका छन् ।
महिला स्वास्थ्य स्वयंसेविकाले घरमै प्रसूति हँुदा हुने जोखिमबारे सचेत पार्न थालेपछि थारु महिला सुरक्षित प्रसूतिका लागि स्वास्थ्यचौकी पुग्न थालेका हुन् ।
विगतमा यस समुदायका थोरै मात्र महिला प्रसूतिका लागि स्वास्थ्यचौकी पुग्ने गरेका थिए देखतभूली स्वास्थ्यचौकीका प्रमुख लीलाकान्त झाले भने, “ जनचेतनाको प्रभावले स्वास्थ्य चौकीमा प्रसूतिहुने महिलाको सङ्ख्या बढ्दो छ ।”
महिला स्वास्थ्य स्वयंसेविकाले गर्भवती महिलाको घरमै पुगेर सुरक्षित प्रसूतिका लागि सचेत गराएकाले परिवारका सदस्यसमेत सचेत भएका छन् ।
गर्भवती भएको अवस्थामा पोषणयुक्त खानासमेत महिलाले नपाउँदा मातृ र शिशु मृत्युदर पनि बढि नै थियो । जनचेतना नहुँदा किशोर अवस्थामै कतिपयको विवाह हुने गरेकाले पनि परिपक्व उमेर नपुग्दै गर्भवती हुने किशोरी निकै जोखिमा रहने गरेका उनको भनाइ थियो।
गर्भवती हुने महिलाका परिवार पनि जनचेतनाका कारण सचेत भएका छन् । पोषणयुक्त खानेकुराले महिलाको गर्भमा रहेको शिशु स्वस्थ्य जन्मने र गर्भवती महिला पनि निरोगी हुने भएकाले गर्भवती महिलाको हेरचाह गर्न थालिएको स्थानीयवासी दयाराम रानाले बताए ।
“पहिला गर्भवती महिलालाई पोषणका लागि हरियो सागपात, गेडागुडी, दूध, माछामासुको व्यवस्था गर्नुपर्छ भन्ने धेरैलाई जानकारी थिएन । अब सबै यसबारे सबै जानकार भइसकेका छन्” उनले भने ।
उक्त स्वास्थ्यचौकीको सेवा क्षेत्र रहेको गाउँपालिका– ४, ५ र ६ का गर्भवती र अन्यलाई गरी महिला स्वास्थ्य स्वयंसेविकाले चालु आवको हालसम्म आठ हजार ६७१ जनालाई सेवा दिइसकेका छन् ।
स्वास्थ्यचौकीमा वार्षिक रुपमा दुई सयभन्दा बढी महिला प्रसूति हुने गरेका छन् । गत आवमा १९४ महिला स्वास्थ्यचौकीमा प्रसूति भएकामा १११ राना थारु समुदायका महिला थिए ।
चालु आवको मङ्सिरसम्म १०७ महिलाले स्वास्थ्यचौकीमै पुगेर शिुशुलाई जन्म दिएका थिए । प्रसूति हुने महिलालाई स्वास्थ्यचौकीबाटै न्यानो झोला, झुल र यातायात वापतको रकम उपलब्ध गराउनाका साथै नियमित गर्भजाँच गराउने महिलालाई समेत प्रोत्साहन रकम उपलव्ध गराउने कार्यले स्वास्थ्य चौकीमा पुगेर बच्चा जन्माउनेको सङ्ख्या बढेको स्वास्थ्यचौकीका प्रमुख झाको भनाइ थियो ।
उनले भने, “गर्भवती भएकामध्ये ८० प्रतिशत महिला स्वास्थ्य चौकीमै सुरक्षित प्रसूतिका लागि पुग्ने गरेका छन् । बाँकीमध्ये कोही अन्य स्वास्थ्य चौकीमा सञ्चालित प्रसूति गृह र अस्पतालमा पुगेर सुरक्षित प्रसूति हुने गरेका छन् भने अझै दुईदेखि तीन प्रतिशत महिला घरमै प्रसूति हुनेगरेका छन् । ”
घरमै प्रसुति हुने कार्यलाई शून्यमा झार्नका लागि प्रयास भइरहेका छ । जनचेतना र शिक्षाका कारण पनि किशेर अवस्थामा विवाह गर्नेको सङ्ख्या विगत वर्षको तुलनामा घटेर अहिले शून्य दशमलव पाँच पुगेको छ भने गर्भावस्था र प्रसूति हँुदा हुने मातृ र शिशु मृत्युदर शून्यमा झरेको बताइएको छ ।
गर्भपतन सेवा लिनेमा किशोरी बढी
देखतभूली स्वास्थ्यचौकीबाट गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरीको सङ्ख्यासमेत बढ्न थालेको छ । स्वास्थ्यचौकीबाट अनिच्छित गर्भ रहेका २० वर्ष मुनिका विद्यालय पढ्ने उमेरका ११ किशेरीले गर्भपतन गराएका थिए भने २० वर्ष माथिका ६९ले गर्भपतन गराएको र गर्भपतन गराएकामध्ये ४४ ले परिवार नियोजनसमेत गरेको बताइएको छ । रासस
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

