दार्चुला : गाउँगाउँमा स्वास्थ्यसंस्था स्थापनापछि स्थानीयवासी हर्षित

212
Shares

नरेन्द्रसिह कार्की

दार्चुला, १६ मंसिर। मार्मा गाउँपालिका–६ जन्नीगाउँका सुनमती महताले सिटामोलका लागि दैनिक सात घण्टा उकालीओराली गर्दै लटिनाथ स्वास्थ्य चौकीसम्म झर्नुपथ्र्यो । घरबाट स्वास्थ्यचौकी पुग्न ओराली दुई घण्टा र उकाली पाँच घण्टा गर्दा झण्डै सात घण्टा सिटामोलको लागि धाउनुपर्ने अवस्था थियो ।

सामान्य टाउँको दुख्दा सिटामोलकै लागि दिनभरी समय जान्थ्यो । तर, स्थानीय सरकार गठन भएको डेढवर्षमै मार्मा गाउँपालिकाले गाउँगाउँमा सुविधा पुग्नेगरी सामुदायिक स्वास्थ्य एकाई थपेसँगै दुर्गम गाउँका नागरिकले सहज स्वास्थ्य सेवा पाउन थालेका छन् ।

स्थानीय सरकारले स्वास्थ्यचौकीबाट टाढा रहेका बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ थपेपछि स्थानीयवासीको स्वास्थ्य चेकजाँच गर्न समस्या टरेको छ । मार्मा गाउँपालिका–६ को विकट बस्ती जन्नीगाउँ, माङदाङ र छिपान बस्तीका लागि माङदाङमा एकाइ स्थापना गरेपछि समस्या समाधान भएको स्थानीयवासी हरकसिंह सितोलीले बताए ।

“टाउँको दुख्दा सिटामोल ल्याउन सात घण्टा हिँड्थ्यांै, अब गाउँमै स्वास्थ्य एकाइ खुल्यो बल्ल समस्या समाधान भएको छ”, उनले भने, “गाउँमा सिंहदरबार आएको अनुभूति बल्ल गर्न पाएका छौ ।” माङदाङमा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले उद्घाटन गरे । सामुदायिक स्वास्थ्य एकाइसँगै सामुदायिक स्वास्थ्य एकाइमा अहेब श्यामसिंह महता र अनमीको रुपमा कान्ती डडाललाई नियुक्त गरिएको छ ।

दुर्गम बस्तीका नागरिकलाई आधारभूत स्वास्थ्य समस्याबाट वञ्चित नहोस् भन्नका लागि सो एकाइ स्थापना गरिएको अध्यक्ष धामीले बताए । गाउँसभाको निर्णयअनुसारस्वास्थ्य एकाइ स्थापना गरेका छौं । अहिले भवन भाडामा सञ्चालन गरिएको छ । भवन निर्माणका लागि यसवर्ष रु छ लाख बजेट विनियोजन गरिएको छ ।
“विस्तारै आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्छौ”, उनले भने, “कसैलाई पनि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित नहुने र घण्टौं हिँड्न नपरोस् भन्नका लागि स्थानीय सरकार कटिबद्ध छ ।” उनले चाँडै सामुदायिक स्वास्थ्य एकाइमा बर्थिङ सेन्टर स्थापनाको प्रक्रिया थालिने जानकारी दिए । गाउँपालिकाले प्रसूति गर्न महिलालाई टाढा हिँड्न नदिने लक्ष्य लिएको जनाएको छ ।

यसैवर्ष गाउँपालिका–१ ताकुमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिसकिएको छ । आउँदा जाँदा आठ घण्टा बढी लाग्ने ठाउँका नागरिकको लागि सहज होस् भन्नका लागि उक्त एकाइ स्थापना गरिएको वडा नं– १ का वडाअध्यक्ष वीरेन्द्रसिंह बोहराले बताए । वर्षांैदेखि गर्भवती चेकजाँचदेखि लिएर सिटामोल खान गुल्जर लटिनाथ जानुपर्ने अवस्था अन्त्य भएको गाउँपालिकाका प्रवक्ता बोहराले जानकारी दिए ।

ताकुमा स्थापना गरिएको स्वास्थ्य एकाइको भवन निर्माणका लागि यसवर्ष रु १३ लाख बजेट विनियोजन गरिएको छ । वडा नं– ३ को भैँसेबगरमा गतवर्ष नै सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । गाउँपालिकाले हरेकवर्ष दुर्गम बस्तीमा स्वास्थ्य सेवा प¥याउने लक्ष्य राखेको जनाएको छ । यसैवर्ष गाउँपालिका–६ शेरीमा बर्थिङ सेन्टर स्थापना गरिएको मार्मा गाउँपालिका एकाइ प्रमुख चक्रसिंह धामीले बताए ।
मार्मा गाउँपालिका केन्द्र लटिनाथमा रहेको स्वास्थ्यचौकीलाई क्रमशःअस्पतालको रुपमा विकास गर्ने प्रक्रिया अगाडी बढेको छ । सुविधा सम्पन्न भवन निर्माण गरिएकाले डाक्टरको खोजी भइरहेको बताइएको छ । गाउँपालिकाबाटै भए पनि लटिनाथमा डाक्टर व्यवस्थापन गरेर मार्मा र अपी हिमाल गाउँपालिकाका लागि सेवा पुग्ने अध्यक्ष धामीको भनाइ छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *