न्यूरो तथा स्पाइन सर्जनहरुको भेला चितवनमा सम्पन्न
चितवन १० मंसिर । न्युरो तथा स्पाइनल सर्जरी संग सम्वन्धित डाक्टरहरुको भेला शुक्रबार सम्पन्न भएको छ । न्यूरो सर्जरी डिपार्ट, कलेज अफ मेडिकल साइन्सेज (पूरानो मेडिकल कलेज) भरतपुरद्धारा आयोजित भेलामा सहभागी हुन देशभरका ७० भन्दा बढी न्युरो तथा स्पाइन सर्जन सौराहा पुगेका थिए ।
भेलाको मुख्य उद्देश्य उपचार पद्दतिमा आएका प्राविधिक विकास र अनुभव आदानप्रदान गर्ने थियो।
पूरानो मेडिकल कलेज न्यूरो सर्जरी डिपार्ट प्रमुख वरिष्ठ न्यूरोसर्जन डा. बिनोद भट्टराईले उपचारमा आएको नयाँ ( नयाँ प्रविधिहरुको विकास र उपचारका क्रममा भएका आ–आफ्ना अनुभव साटासाट गर्न भेला आयोजना गरिएको बताए ।
‘न्युरो सर्जरी सम्वन्धी सिएमई ( कन्टीनिअस मेडिकल एजुकेशन) भएको थियो । यसको उदेश्य मेडिकल शिक्षामा भएका अपडेटहरुको जानकारी दिनु, अनुभव साटासाट गर्नु हो,’ डा. भट्टराईले भने ।
कार्यक्रममा पुरानो मेडिकल कलेजका वरिष्ठ न्यूरोसर्जन डा. सोमराज लामिछानेले मेरुदण्ड र न्यूरो सर्जरीको सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेका थिए। यस्तै क्रिम्सन हस्पिटल बुटवलका वरिष्ठ न्यूरोसर्जन डा. के आई सिंह केसी, पुरानो मेडिकल कलेजकै रेडियोलोजी विभाग प्रमुख वरिष्ठ डा. हरि रानाले पनि कार्यपत्र सहित आ–आफ्ना भनाइहरु राखेका थिए।
अन्नपूर्ण न्यूरो हस्पिटल काठमाडौंका वरिष्ठ न्यूरोसर्जन डा. वसन्त पन्त, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंका वरिष्ठ न्यूरोसर्जन डा. गोपाल सेढाईले पनि आ–आफ्ना अनुभव र प्रविधिको विषयमा मन्तव्य व्यक्त गरेका थिए।
देशभरका न्यूरोसर्जनहरुको संस्था नेशनल सोसाइटी अफ न्यूरोसर्जनले हरेक महिना दुई महिनामा यस्तो कार्यक्रमको लागि आयोजक संस्थासंग समन्वय गर्दै आएको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



