पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर कार्यक्रम सञ्चालन हुने

848
Shares

काठमाडौँ, १६ कात्तिक । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर (पीजी) कार्यक्रम सञ्चालन हुने बाटो खुलेको छ । नेपाल मेडिकल काउन्सिलको बिहीबार बसेको बैठकले पीजीका लागि सिट तोक्न इन्सपेक्सन टोली खटाउने निर्णय गरेसंगै बाटो खुलेको हो ।

यसअघि बैठकले उपाध्यक्ष डा. नारायण बिक्रम थापा नेतृत्वको टोलीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर कार्यक्रम सञ्चालन मिल्छ भन्ने प्रतिवेदनलाई अनुमोदन गरेको थियो । सो प्रतिवेदन पारित गरेसंगै सिट निर्धारणको लागि इन्सपेक्सन टोली पठाउने निर्णय गरेको हो ।

‘प्रतिष्ठानमा पीजी कार्यक्रम गर्न मिल्ने कि नमिल्ने भनेर अध्ययन गर्न उपाध्यक्ष ज्यूको नेतृत्वमा निरीक्षण टोली पोखरा गएको थियो । उसले पीजी कार्यक्रम सञ्चालन गर्न मिल्छ भन्ने राय दिएपछि अब सिट निर्धारणको लागि इन्सपेक्सन टोली खटाउने निर्णय गरेका हौँ,’ काउन्सिल प्रवक्ता डा. कृष्ण अधिकारीले भने ।

मुलुक संघीयतामा गइसकेपछि हरेक प्रदेशमा सरकारीस्तरमा मेडिकल कलेज स्थापना गर्ने नीति अनुरुप पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई १२ माघ ०७२ मा ऐनअनुसार प्रतिष्ठानका रुपमा अघि बढाइएको हो ।

स्व. मेजर वीरसिंह गुरुङले ०१३ सालमा केही दाताको सहयोगमा प्रथम र द्वितीय विश्वयुद्धमा ज्यान गुमाएका र हराएका नेपाली सिपाहीको सम्झनामा यस अस्पतालको स्थापना गरेका थिए । ०१९ सालमा सरकारलाई हस्तान्तरण भएको यो अस्पताल हाल ५०० सय्यासहित सञ्चालनमा छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *