राप्ती अञ्चल अस्पतालमा डायलासिस र एक्स–रे सिआर्म यन्त्र प्रयोगविहीन

दाङ, २५ चैत । यहाँको एक मात्र सरकारी अस्पताल साविकको राप्ती अञ्चल अस्पतालमा बिरामीले प्रभावकारी सेवा पाउनसकेका छैनन् ।

जनताले आफ्नै ठाउँमा प्रभावकारी स्वास्थ्य सेवा पाउनका लागि विसं २०६५ मा महापुराण लगाएर रु दुई करोड तथा करीब पाँच बिघा जग्गा सो अस्पताललाई जुटाइदिएका थिए । तत्कालीन सरकारले तुलसीपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरवृद्धि गरेर अञ्चल अस्पताल बनाउने निर्णय गरेको थियो ।

अथक मेहनत तथा सहयोग गरेर स्थापना गरेको सो अस्पतालमा हालसम्म पनि विशिष्ट सेवा पाउन नसक्दा आफूहरु निराश बन्नुपरेको तुलसीपुरवासीको गुनासो छ । मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा सो अस्पतालको नाम अझै पनि राप्ती अञ्चल अस्पताल नै छ ।

अहिले अस्पतालमा १७ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि पाँच जना मात्र कार्यरत छन् । एक वर्ष अगाडि ठूलो मूल्यमा ल्याइएको डायलासिस र एक्स–रे सिआर्म यन्त्र हालसम्म पनि प्रयोग हुन नसक्दा यहाँका बिरामीलाई चर्को मूल्य तिरेर बाहिरी जिल्ला पुग्नुपर्ने बाध्यता रहेको स्थानीयवासी मीनराज भण्डारीले बताए।

त्यसैगरी अस्पतालले पहिलेदेखि नै सञ्चालनमा ल्याउने भनी ल्याइएका सघन उपचार कक्ष÷ एनआइसीयुका सामग्री पनि प्रयोगविहीन अवस्थामा पुगेको अस्पताल निकट स्रोतले जनाएको छ । त्यसैगरी अस्पतालले सञ्चालन गरेको औषधालयबाट पनि बिरामीले नियमित रुपमा सेवा पाउन सकेका छैन् ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट विनोद सिंहले अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक र यन्त्र सञ्चालनका लागि दक्ष जनशक्ति र बिजुलीको भरपर्दो व्यवस्था नहुँदा समस्या भएको बताए। उहाँले भन्नुभयो, “सरकारले उपयुक्त दरबन्दी नपठाउँदासम्म सहज रुपमा सबै सेवा प्रवाह गर्न समेत सकिँदैन । ” रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *